अंगदानमा भिआईपीहरु : परराष्ट्रमन्त्री ज्ञवालीले पनि दिए मञ्जुरी
भक्तपुर । शरीरको अंग दानका लागि केही चर्चित व्यक्तिहरुले सहमति दिइसकेका छन् । मृत्युपछि जलाएर वा गाडेर अन्त्य गरिने पार्थिव शरीरको अंग कुनै अंग बिग्रिएर बसेकाका लागि वरदान साबित हुने भएपछि भएपछि विभिन्न व्यक्तिले अंगदानको उद्घोष गरेका हुन् ।
आँखा, मृृगौला, कलेजो, छाला, बोनम्यारोको प्रत्यारोपण नेपालमै सम्भव भइसकेको छ । कलाकार मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, काँग्रेस नेता गगन थापा, पूर्वमन्त्री उपेन्द्र महतो, राजपा संयोजक राजेन्द्र महतो, पूर्वस्वास्थ्य सचिव डा. प्रवीण मिश्र, गायिका आनी छोइङ डोल्मा, गायक योगेश्वर अमात्यलगायतले मरणोपरान्त अंगदान गरिसकेका छन् ।
परराष्ट्रमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवाली दम्पत्तीले पनि शुक्रबार अंगदानको स्वीकृति दिएका हुन् । मन्त्री ज्ञवाली र पत्नी सरस्वती ज्ञवाली अर्यालले शुक्रबार शहीद धर्मभक्त अध्ययन प्रतिष्ठानले भक्तपुरमा गरेको कार्यक्रममा अंगदानको घोषणा गरेका हुन ।
ज्ञवाली दम्पत्तीले मृगौला, मुटु, फोक्सो, कलेजो, प्याङक्रियाज, सानो आन्द्रा दान दिने गरी मञ्जुरी दिएका छन् । आफूले दान गरेका अंगबाट एकजनाको जीवन जोगिएमा त्यो नै आफ्नो जीवनको सार्थकता हुने मन्त्री ज्ञवालीले बताउनुभयो ।