काममा ढिलाई गर्ने कर्मचारीमाथि कडा कारबाहीको माग
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभाका सांसदहरु झपट रावल र देवेन्द्रराज कँडेलले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कडा कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्दा सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउने रावलले बताउनुभयो । त्यस्तै नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
बैठकमा विधेयकमाथि सांसहरुले उठाएका प्रश्नको जवाफ दिँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनमा सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको स्मरण गराउनु भयो ।
कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखी बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको उहाँको भनाइ थियो ।