News

११ को शुल्क महँगो भन्दै नेवि संघ आन्दोलनमा

११ को शुल्क महँगो भन्दै नेवि संघ आन्दोलनमा


काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले कक्षा ११ र १२ को शुल्क निर्धारण विरुद्ध आन्दोलन थालेको छ । नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए सडक संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

नेविसंघले आज काठमाडौँमा पत्रकार सम्मेलनगरी साउन ६ गते शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउने, साउन ८ गते शैक्षिक शुल्कवृद्धिको विरुद्धमा अन्तक्र्रिया तथा छलफल गर्ने, साउन १० गते चर्को शुल्कवृद्धिको विरुद्धमा सडक संघर्ष गर्ने र त्यसपछिका चरणबद्ध रुपमा सडक संघर्षका कार्यक्रमहरु गरिने जानकारी दिएको हो । 


नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरी श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल (काका) ले तत्काल शैक्षिक शुल्क वृद्धि फिर्ता नलिए नेविसंघ सशक्त सडक संघर्षमा उत्रिने चेतावनी दिए । 


दाहालले देशकै समग्र शिक्षा प्रणाली नै महँगो भएकोले भ्रष्टाचार मौलाएको टिप्पणी गरे । उनले भने,‘सरकारी उच्च तहका कर्मचारीको तलब नै ३८ हजार छ । तर, उसले आफ्ना दुई वटा बच्चा पढाउँदा पचासौं हजार खर्च गरिरहेको छ । यसमा सिधै देखिन्छ कि उसको समग्र आम्दानीभन्दा दुईवटा बच्चा पढाएको खर्च दोब्बर हुन आउँछ । भ्रष्टाचार यहीँबाट सुरु भएको छ। यसलाई रोक्न जरुरी छ ।’


सरकार र खासगरी सम्बन्धित निकायले शैक्षिक संस्थाहरुको मनपरीलाई रोक्नको लागि नियमित अनुगमन गर्नुपर्नेमा पनि दाहालले जोड दिए । उनले भने,‘तर, पछिल्लो एक दशकमा सरकारले अनुगमन नै गरेको छैन् । किनकी उनीहरुको पनि ती संस्थाहरुमा लगानी छ ।’


त्यस्तै, कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय सदस्य मोतिलाल भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । भण्डारीले कुन कलेजले कति शुल्क वृद्धि गरेको छ भनेर तथ्यांक नै सार्वजनिक गरेका थिए । 


उनले सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा बढि शुल्क लिने कलेजमा ग्लोबल कलेज र के.एम.सी कलेज रहेका छन् । उनले चर्को शुल्क लिने विभिन्न २० वटा कलेजको नाम र उनीहरुले लिने गरेको शुल्कसमेत सार्वजनिक गरेका थिए । 


कार्यक्रममा नेविसंघका पूर्व केन्द्रिय उपाध्यक्ष क्षितिज भण्डारीले पनि शुल्कवृद्धिको विरोध गरे । सरकारले प्राविधिक शिक्षा तथा तालिमसम्बन्धी अध्यापन गराउने कलेजको सम्बन्ध रोकेको भएपनि शिक्षामन्त्रीले गुल्मीलगायतका १२ कलेजलाई चोर बाटोबाट सम्बन्धन दिलाएको आरोप लगाए । 


त्यस्तै उनले नेविसंघले आफ्न्तहरुलाई छात्रवृत्ति दिलाउने विरुद्धमा नीति पारित गरेकोले त्यसलाई कार्यान्वयन गर्नुपर्ने पनि बताए । उनले भने,‘हामीले चन्दा नउठाउने नीति पारित गरेका छौं । यसलाई सशक्त रुपमा कार्यान्वयन गर्नुपर्छ । त्यस्तै, विश्वविद्यालयका उपकलुतिहरुलगायतका पदमा राजनीतिक नियुक्ती गर्नुहुँदैन् ।’


त्यस्तै, कार्यक्रमका सभापति समेत रहेका नेविसंघका पूर्व कार्यवाहक अध्यक्ष एवम् कांग्रेस महासमिति सदस्य मनहरी श्रेष्ठले अभिभावककहरुको ढाड सेक्नेगरि गरिएको अवैज्ञानिक शुल्कवृद्धि तत्काल खारेज गर्नुपर्ने माग गरे । 


आफूहरुले विगत लामो समयदेखि शुल्कवृद्धिको विरुद्धमा सशक्त आवाज र संघर्ष गर्दै आएको सुनाउँदै श्रेष्ठले भने,‘अब पनि सरकारले हाम्रा मागबारे सुनुवाई गरेन र शुल्कवृद्धि फिर्ता गरेन भने हामी बाध्य भएर सडक संघर्षमा होमिनुपर्ने हुन्छ । सरकारले बेलैमा ध्यान दिओस् ।’
 

विशेष