वसन्तपुरकी कुमारीको हीराजडित छतख्ते मुकुट गायब
काठमाडौं । वसन्तपुरकी कुमारीको हीराजडित मुकुट खोजीको विषय भएको छ । कुमारीका साथमा रहेका गरगहना जाँच गर्दा यो मुकुट जाँच समितिले पनि अवलोकन गर्न पाएको छैन । गत वर्ष गुठी संस्थानको एक समितिबाट गहना जाँच भएको थियो ।
गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठीमा सुन नै नभएको पाइएको थियो । विसं १९९१ मा सरकारका तर्फबाट गुठी जाँच अड्डाको नामको लगतमा तत्कालीन राजा जयप्रकाश मल्लले यो मुकुट श्रीकुमारीलाई चढाएको अभिलेख छ ।
कुमारीका पुजारी उद्धव कर्माचार्यका अनुसार जयप्रकाश मल्लले कुमारीलाई चढाएको हीराजडित छतख्ते मुकुट हराइरहेको छ । कुमारीलाई झट्ट हेर्दा मल्लले चढाएजस्तो झुक्यानमा पार्न सकिने अर्को मुकुट पहिर्याइएको छ ।
पुजारी कर्माचार्यले राजा जयप्रकाश मल्लले चढाएको मुकुटको यकिन अवस्था सार्वजनिक हुन नसकेको जानकारी दिए । केन्द्रीय गुठी लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीका सूचना अधिकारी श्रीरत्न शाक्यका अनुसार लगतअनुसार कुमारीको छतख्ते मुकुटमा पहिलोमा हीरा दाना १३०, दोस्रोमा पन्ना ३ वटा, नीर, माणिक, मुगा, मोती एक/एकवटा, गोमेद दुईवटा र हीरा १३ वटा जडित छन् ।
तेस्रो तख्तामा हीरा ९० दाना र माणिक २८ वटा जडिएका छन् । चौथोमा हीरा ५५ दाना, माणिक ४२ वटा छन् भने पाँचौँमा हीरा दाना ९६, छैटौँ तख्तामा नौरत्न दाना छवटा, माणिक २९ वटा र सानो पन्ना १२ वटा जडिएका छन् ।
श्रीकुमारीको नित्यपूजा गर्नुहुने हनुमानढोका तलेजुका मूल पुजारी उद्धव कर्माचार्य स्पष्ट पार्छ, 'लेखक रोवट एन्ड लिन्डा फेलिङले लेख्नुभएको ‘काठमाडौँ भ्याली’ नामक पुस्तकमा विसं २०३२ मा श्रीकुमारीले लगाएको यो मुकुटसहितको फोटो प्रकाशित छ तर यो फोटोमा देखिएको मुकुट कहाँ छ, अत्तोपत्तो छैन ।' यसपछिका नियुक्त कुमारीले यो मुकुट लगाएको पाइएको पनि छैन ।
गहना जाँचमा संलग्न गुठी संस्थानका अधिकृतत्रय हरिप्रसाद जोशी, जयप्रसाद रेग्मी र राजेन्द्र दाहाल तथा संस्थानका सहप्रशासक दीपकबहादुर पाण्डेले आफूहरूले यो मुकुट जाँचका क्रममा अवलोकन नगरेको बताए । गुठी लगत कार्यालय प्रमुख दाहालले बेचल्तीका गहना मात्र जाँच भएको बताए । गहना जाँचका क्रममा कुमारीलाई राज्यका तर्फबाट चढाइएका २२ वटा औँठी सुन नै नभएको पाइएको सहप्रशासक दीपकबहादुर पाण्डेले स्पष्ट पारे ।
मुकुटबाट जोडिएर दुवै कानतर्फ लत्रने हीराजडित लर्कन पनि कहाँ छ ? खोजीको विषय भएको जानकार बताउँछन् । २०३२ सालयताका कुमारीलाई मुकुटको सट्टा फूलको गुच्छा आकारको भुवादार रातो कपडाको मुकुट लगाएर रथयात्रा गराउने गरिएको छ ।
सिद्धिचरणचोक न्युरोड दफ्तर क्लबका अध्यक्ष राकेश शाही यो मुकुट सहरवासीका लागि कौतुहल र जिज्ञासाको विषय भएको बताउँछन् । रथयात्राबाहेक विभिन्न पर्वमा सहरयात्रा गराउँदा पनि यो मुकुट कुमारीको शिरमा देख्न नपाएको शाहीको भनाइ छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो।
कुमारी