News

पेट्रोलियम पाइपलाइन १५ महिनाअघि नै सम्पन्न हुँदै

पेट्रोलियम पाइपलाइन १५ महिनाअघि नै सम्पन्न हुँदै

काठमाडौं । तोकिएको समयभन्दा झन्डै आधा समयमै भारतको मोतिहारीबाट नेपालको अमलेखगञ्जसम्म पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । परीक्षणका रूपमा दैनिक पेट्रोलियम पदार्थ अमलेखगञ्ज ल्याइन थालिएपछि तोकिएको समयभन्दा झन्डै आधा समयमै पेट्रोलियम आउने भएको हो । यो आयोजना ३० महिनामा तयार गर्ने गरी १५ महिना अघि सुरु गरिएको थियो । नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले परीक्षणका रूपमा पेट्रोलियम ल्याउन थालिएको स्पष्ट पारे । उनले भने, ‘हामी साउनभित्रै पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारीमा छौंँ ।’ पेट्रोलियम पाइपलाइन राष्ट्रिय गौरवको आयोजना पनि हो । 

 

भारतको बरौनीदेखि पटना, पटनादेखि मोतिहारी र मोतिहारीदेखि अमलेखगञ्जसम्मको क्षेत्रमा पेट्रोलियम आपूर्तिको दैनिक परीक्षण भइरहेको छ । गोइतको भनाइ छ, ‘अहिले कतिसम्म धमिलो आयो, पानी मिसिएको छ÷छैन, शुद्धता कस्तो छ, यी सबै कुराको परीक्षण भइरहेको छ ।’ पाइप लाइनको हाइड्रो टेस्टिङपछि अन्तिम परीक्षण गरिएको हो । पाइप लाइनबाट पहिलो चरणमा डिजेल ल्याउने तयारी भएको छ । सफ्टवेयर जडानसँगै फ्लो मिटरको जडानसहित भण्डारणको पनि परीक्षण भइरहेको छ । 

 

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा निर्माण भएको पाइप लाइनको लम्बाइ ६९.५ किलोमिटर छ । जसमा ३२.२५ किलोमिटर भारत र ३७.५ किलोमिटर नेपालमा पर्दछ । अमलेखगञ्ज डिपोमा पाइपबाट आएको तेल भण्डारणको संरचना निर्माण सकिएको छ । कुल ४१ लाख किलोलिटरका दुईवटा र ३९ लाख किलोलिटर क्षमताका दुईवटा ट्याङ्की तयारी अवस्थामा छन् । १०.७५ इन्च व्यासको पाइपबाट प्रतिघन्टा ३ लाख लिटर आपूर्ति हुनेछ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।
 

पेट्रोलियम पदार्थ

विशेष