News

कफीमा पनि इलाम उत्कृष्ट

कफीमा पनि इलाम उत्कृष्ट

इलाम । इलाम चियाको राजधानीकारुपमा चिनिन्छन् । यहाँ मानिस चिया किन्न मात्र नभई चियाबारी क्षेत्र घुम्न पनि आउने गर्छन् । तर, पछिल्लो समय चियाका लागि प्रख्यात मानिने इलाममा कफी खेती पनि हुन थालेको छ । किसानले कफीको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भएको हो । केन्द्रीय तथ्याङ्क विभागले गरेको एक सर्वेक्षणअनुसार इलाम प्रदेश नं १ कै उत्कृष्ट कफीखेती हुने जिल्लामा परेको छ ।

 

सर्वेक्षणका अनुसार प्रदेश नं १ को १० जिल्लामा ५६९ किसानले व्यावसायिक कफीखेती गरेका छन् । त्यसमध्ये इलाममा २३६ किसानले व्यावसायिक कफीखेती गरिरहेको केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए । विभागले ५० बोटभन्दा बढी कफी लगाएर खेती थालेका किसानलाई मात्रै सर्वेक्षणमा समावेश गरेको छ ।  

 

प्रदेश नं १ को १२० हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेको छ । त्यसमध्ये इलाममा ४३ हेक्टरमा व्यावसायिकरूपमा खेती गरिएको छ । प्रदेश १ मा एक लाख तीन हजार ६६१ किलो ‘फ्रेस चेरी’ उत्पादन हुने गरेको छ । इलाममा वार्षिक ४२ हजार ६४९ फ्रेस चेरी उत्पादन हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इलाममा पछिल्लोपटक कम्पनीमार्फत ठूलो क्षेत्रफलमा कफी लगाउन थालिएको छ । सूर्योदय नगरपालिकामा ४०० रोपनीमा कफी लगाइँदैछ । इलाम नगरपालिका, देउमाईको जीतपुर, गजुरमुखीलगायतका ठाउँमा ठूलो क्षेत्रफलमा कफीखेती थालिएको छ । प्रदेश नं १ को तेह्रथुममा १६६ किसानले १६ हेक्टर क्षेत्रफलमा कफी खेती गरेका छन् ।  

इलाम चियाबारी

विशेष