धनगढी बम विष्फोटको जिम्मा लिँदै विप्लव समूहले भन्यो : आत्मरक्षाका लागि बोकेको विष्फोट भयो
काठमाडौँ । कैलालीको धनगढीस्थित शहीद गेटमा भएको बम आत्मरक्षाका लागि बोकेको बेला विष्फोट भएको नेकपा विप्लव समूहले जनाएको छ । बम विष्फोटको जिम्मा लिँदै विप्लव नेकपाको सेती–महाकाली ब्यूरोका इञ्चार्ज ‘निर्माण’ले जारी गरेको विज्ञप्तिमा पार्टी कामको सिलसिलमा आत्म रक्षाका लागि बोकेको बम विष्फोट भएको उल्लेख छ ।
घटनाका कारण सर्वसाधारणलाई असहज परिस्थिति उत्पन्न भएको भन्दै दुःख प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ –‘ पार्टी कामको सिलसिलामा आत्म सुरक्षका लागि बोकेको विष्फोटक पदार्थ विष्फोट हुँदा सहादत प्राप्त गर्नुभएका रामबहादुर सिंह क. राजेशलाई एकीकृत जनक्रान्तिका महान सहीद घोषणा गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।’
‘विष्फोटमा परी घाइते हुनु भएका सर्वसाधारण नागरिकको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दछौं । घाइतेको उचित उपचारको व्यस्वस्था पनि पार्टीले गर्ने प्रतिबद्धतासहित अस्पताल परिवार र उपचारमा संलग्न स्वास्थ्यकर्मीमा घाइतेको उपचारमा कुनै पनि कमी हुन नदिन पार्टी विनम्र अनुरोध गर्दछ ।’विज्ञप्तिमा उल्लेख छ ।
हिजो साँझ धनगढी उपमहानगरपालिका–४ शहीदगेटस्थित निलम होटलमा भएको बम विष्फोटमा परी घाइते राजेश सिंहको उपचारको क्रममा मृत्यु भएको थियो । घटनामा घाइते अन्य ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । हेर्नुहाेस् विज्ञप्ति