News

दशैँअघि नारायणी नदीमा पानीजहाज

दशैँअघि नारायणी नदीमा पानीजहाज

चितवन । नारायणी नदीमा सञ्चालन गर्न चार महिनादेखि निर्माणाधीन क्रुज (मिनी पानीजहाज)लाई नदीमा राखिएको छ । पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको राइनो वाटर इन्टरटेनमेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए । चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ ।

तीन सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलले जानकारी दिए । बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारेका थिए । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन् ।

जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपियाँ लगानी भइसकेको कँडेलले बताए । “सरकारले गएको आर्थिक वर्र्षमा एक करोड रुपियाँ सहयोग गरेको थियो, बाँकी चार करोड रुपियाँ हामी आफैँले लगानी गरेका छौँ’’, कँडेलले भने ‘‘चितवनका छ जना युवा मिलेर नयाँ काम गरौँ भन्ने सोचेर यो काम गरेका हौं।’

उक्त पानीजहाज निर्माणमा कम्तीमा १५ करोड रुपियाँ खर्च हुने अनुमान छ । जहाज सञ्चालक कम्पनीका अनुसार तत्कालका लागि काभ्रेघाटदेखि देवघाटसम्म चलाउने अनुमति लिइसकिएको छ । २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि जहाज हिँड्ने बाटोसमेत अध्ययन गरेको कँडेलले बताए । यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।

पानीजहाज नारायणी नदी

विशेष