News

आकर्षक जागिरको प्रलोभनमा पारी मानव तस्करी

क्याम्बोडिया ६ नेपाली अलपत्र

आकर्षक जागिरको प्रलोभनमा पारी मानव तस्करी

दमौली : वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन्। उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन्।

दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर थापा, मचदाङका रेशम थापा, चैनपुरका धनबहादुर राना र चालिसेका गोपाल थापासँगै काभ्रेलाञ्चोक महादेवस्थानका विनोद खरेल छन्।

प्युठान बरौला ३ घर भई ललितपुर २३ निवासी दुर्गाबहादुर गुरुङको साथमा उनीहरू बैंकक हुँदै असार २५ गते त्यहाँ पुगेका थिए। सिमरिपमा एक रात बसेका उनीहरूसँग एजेन्ट गुरुङले क्यासिनोमा सेक्युरिटी गार्डमा मासिक ९ सय ७० डलरमा काम लगाउने सम्झौता गराएका थिए। गुरुङ भोलिपल्टै बेपत्ता भएपछि युवाले आफू ठगिएको थाहा पाएका हुन्। सबै युवा ऋषिङ गैह्राथोक घर भई हाल व्यास–७ कलेस्ती बस्दै आएका धनबहादुर रानामार्फत गुरुङको सम्पर्कमा पुगेका थिए।

राम्रो रोजगारीको अवसरमा रहेका जंगबहादुरसँग चिनजानमा रहेका धनबहादुरले राम्रो अफर रहेको भनेर फोन गरेपछि उनले गाउँका अरू युवालाई पनि लिएर कम्बोडिया उड्ने तयारी गरेको बताए। कम्बोडिया मा व्यवसाय सञ्चालन गरिरहेकी व्यास १४ की रजनी थापाको आ श्रयमा रहेका जंगबहादुरले अन्नपूर्णसँगको अनलाइन कुराकानीमा धनबहादुरबाट निरन्तर फोन आएपछि गाउँका युवालाई लिएर आफू पनि कम्बोडिया गएको बताए। ‘क्यासिनोमा आठजना चाहिएको छ, मासिक नौ सय डलर तलब हुन्छ भनेका थिए’, उनले भने। राम्रो कामको खबर पाएपछि काभ्रेका विनोद पनि उनीहरूको समूहमा मिसिएका थिए।

पीडित धनबहादुर रानाले नेपालका अर्का एजेन्ट धनबहादुरमार्फत १५ सय डलर सटहीसहित जनही दुई लाख ७० हजार रुपैयाँ नेपालमै बुझाएर कम्बोडिया उडेको बताए। ‘सेटिङ मिलाउने भनेर धनबहादुरको सहयोगमा पैसा बुझाएका हौं,’ उनले भने, ‘तर हामीसँगै उड्ने भनेका उनी भने घरमा नमिलेको भनेर उडेनन्।’ नेपालबाट बैंककसम्म पुगेका उनीहरुले कम्बोडिया पुग्न भने स्थलमार्ग प्रयोग गरेका थिए। कम्बोडिया पुगेकै दिन सम्पर्कमा आएका दुर्गाबहादुरले उनीहरूलाई कोराथामस्थित एचबी होटलमा राखेका थिए। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

तस्करी

विशेष