News अपराध सुरक्षा

घुस लेनदेनमा झन्डै २ सय कर्मचारी पक्राउ, दुई अर्बको अनियमितता

घुस लेनदेनमा झन्डै २ सय कर्मचारी पक्राउ, दुई अर्बको अनियमितता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लेनदेनमा संलग्न १६१ राष्ट्रसेवक कर्मचारीलाई पक्राउ गरी गत आर्थिक वर्षमा कारबाही गरेको छ । घुससहित पक्राउ पर्नेमा विशिष्ट श्रेणीका राष्ट्रसेवकदेखि कार्यालय सहयोगीसम्म संलग्न रहेको आयोगले सार्वजनिक गरेको वार्षिक तथ्याङ्कमा उल्लेख छ । अख्तियारले काठमाडौंमा शुक्रबार पत्रकार भेटघाट कार्यक्रममा आर्थिक वर्षको तथ्याङ्क सार्वजनिक गर्दै सबैभन्दा बढी नायब सुब्बासरहका राष्ट्रसेवक घुससहित पक्राउ परेको जनाएको छ ।

 

घुससहित पक्राउ पर्ने नायब सुब्बा र सो सरहका कर्मचारीको सङ्ख्या ४७ छन् । जसमध्ये २३ जना प्रशासन, २१ जना प्राविधिक र तीन जना प्रहरी छन् । सबैभन्दा कम विशिष्ठ श्रेणीका दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन् । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले समाजमा व्याप्त भ्रष्टाचारको प्रभाव राष्ट्रसेवकमा अझै बढी रहेको तथ्याङ्कले देखाएको बताए। उनले सेवाग्राहीको गुनासो र उजुरी मात्रैको आधारमा आयोगले गरेको ‘स्टिङ’मा उक्त सङ्ख्यामा कर्मचारी घुससहित पक्राउ परेको प्रस्ट्याए । घुस लेनदेनमा खरिदार वा कार्यालय सहयोगी मात्रै सक्रिय नभई सहसचिव, उपसचिव र शाखा अधिकृत श्रेणीका राष्ट्रसेवकको सङ्ख्या पनि उल्लेख्य छन् । 
 

दुई अर्बको अनियमितता
आयोगले गत आवमा एक हजार ५०० घुस लेनदेनको मुद्दादेखि दुई अर्ब रुपियाँभन्दा बढीको अनियमितताको मुद्दा विशेष अदालत काठमाडौँमा दायर गरेको छ । आयोगका प्रवक्ता कोइरालाले सबैभन्दा बढी सिक्टा सिँचाइ आयोजनामा दुई अर्ब १६ करोड भ्रष्टाचार भएको ठहरसहित २१ जनामाथि सजाय र जरिवानाको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाए । गत आवमा आयोगले एक करोड रुपियाँभन्दा बढी आर्थिक अनियमितता भएको २६ वटा मुद्दामा सजायको मागसहित आरोपपत्र दायर गरिएको छ । विस्तृत समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।  

घुस अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्मचारी पक्राउ

विशेष