News

तोडफोडमा संलग्नहरुलाई भौतिक कारबाही गर्ने चेतावनी 

तोडफोडमा संलग्नहरुलाई भौतिक कारबाही गर्ने चेतावनी 

काठमाडौं  । रुपन्देहीको तिलोत्तमामा बुद्ध मूर्ति तोडफोड गरिएको घटनाको निन्दा गर्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न सरकारलाई चौतर्फी दबाब परेको छ । 

भगवानको मूर्ति तोडफोड गर्ने अपराधीलाई सरकारले पक्राउ गर्न नसकेमा शिव सेना नेपाल आफैंले पक्राउ गर्ने र भौतिक कारबाहीको चेतावनी दिएको छ । 
शिव सेना नेपाल रुपन्देहीका अध्यक्ष विपिन मल्लिकले भने, ‘समाजमा धार्मिक सद्भाव बिगार्ने गरी कुनै कुतत्वले भगवानको मूर्तिमा तोडफोड गर्छ भने त्यस्तो समूहलाई शिव सेना स्वयंमले कारबाही गर्ने क्षमता राख्छ ।’

अध्यक्ष मल्लिकले शिव सेनाको केन्द्रीय समितिले दिएको निर्देशनअनुसार अपराधीहरुको खोजी र कारबाहीका लागि शिव सैनिकहरु आफैं परिचालन हुँदैछन् । 
शिव सेनाका अध्यक्ष अनिल बस्नेत ‘बाबा’ले पनि यो घटना अक्षम्य भएको उल्लेख गरेका छन् । दोषीको खोजी र कारबाहीका लागि शिव सेना एक्सनमा जाने निर्णयबमोजिम काम कारबाहीहरु अघि बढेको उनले जानकारी दिए ।

शिव सेनाले घटनाका सम्बन्धमा अनुसन्धान र आवश्यक परे कारबाहीका लागि केन्द्रीय सदस्यहरु अनिल जयसवाल, अर्जुन न्यौपानेसमेतलाई परिचालन गरेको छ ।  

बुद्धको मूर्ति तोडफोडमा संलग्नलाई कानुनी दायरामा ल्याउन नेपाली कांग्रेस, राप्रपालगायत राजनीतिक दलले पनि सरकारलाई आग्रह गरिसकेका छन् । प्रदेश नम्बर ४ ले समेत घटनामा संलग्नहरुको खोजी तीव्र पारेको दावी गरेको छ । 

लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउन तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा २२ वटा बुद्धका मूर्ति स्थापना गरेको थियो । जसमध्ये केही मूर्ति बुधबार राति तोडफोड गरिएको थियो  । 

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको छ ।
 

विशेष