९ अंक ल्याएकालाई ६० अंक थपेको त्रिविबाट स्वीकार
यसरी थपियो अंक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले ९ अंक ल्याएका विद्यार्थी सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर स्नातकोत्तर उपाधि दिएको स्वीकार गरेका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मंगलबार गरेको छलफलमा त्रिवि रजिष्टार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेको पाइएकाे स्वीकार गर्नुभयो । त्रिविले यो संस्थागत नभइ मानवीय त्रुटिवश भएको जनाएको छ ।
कसरी थपियो अंक ?
त्रिविका रजिष्टार उप्रेतीकाअनुसार विद्यार्थीले परीक्षा दिइसकेपछि उत्तरपुस्तिकालाई एकीकृत गरेर सम्बन्धित परीक्षा केन्द्रले परीक्षा नियन्त्रण कार्यालयमा पठाउँछ । परीक्षा नियन्त्रण कार्यालयले प्रत्येक उत्तरपुस्तिकाको भित्री र बाहिर पृष्ठको नम्बर मिले नमिलेको चेक गर्छ । ‘कसैले छुट्टै पन्नामा उत्तर लेखेर टाँसेको रहेछ भने बाहिर पृष्ठमा थपिएको कापीको नम्बर हुँदैन । वा थपिएकोमा पनि नम्बर नहुनसक्छ । यो हेर्न भित्री र बाहिरी पृष्ठको नम्बर चेक गर्ने गर्छ ।
भित्री र बहिरी पृष्ठको नम्बर नमिलेको अवस्थामा त्यसलाई रद्ध गर्ने र मिलेकाहरुको हकमा बाहिरी पृष्ठ राखेर पुनः नम्बरिङ गरी जाँचका लागि शिक्षकहरु कहाँ पठाइन्छ । कसको कापी कहाँ गएको छ भन्ने पनिकालाई थाहा हुने तर, शिक्षकले कसको उत्तरपुस्तिका जाँच गरेको हो भनेर पत्ता लगाउन नसक्ने रजिष्टार उप्रेतीले जानकारी दिनुभयो ।
शिक्षकले उत्तर पुस्तिका जाँच गरेर पठाएपछि पनिकाको समितिले केही नमूना लिएर उत्तरपुस्तिका जाँच मिले नमिलेको हेर्छ । यदि कुनै नमिलेको भेटिए सच्याइन्छ । यही सच्याउने बेला ९नम्बर इन्ट्रीमा० ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेर ६९ नम्बर दिइएको पाइएको रजिष्टार उप्रेतीले स्पष्ट पार्नुभयो । नम्बर इन्ट्री गर्ने बेला मानविकी संकायका गोप्य शाखाका प्रमुखले ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिएको उहाँको भनाइ छ । यद्यपि कोइरालाको मार्कस्लिपमा भने ९ नम्बर नै छ । जुन रजिष्टार उप्रेतीले ससदीय समितिमा देखाउनुभएकाे थियाे ।
कहिले भयो घटना ?
रजिष्टार उप्रेतीका मानविकी संकायका गोप्य शाखाका प्रमुख रामु कर्माचार्यले सुरेन्द्र कोइरालालाई २०७२/७३ को वार्षिक परीक्षाको नतिजामा एउटा विषयको उत्तरपुस्तिकामा ९ नम्बर रहेकामा पनिका गोप्य शाखाका कर्मचारीले ९ को अगाडि ६ थपिदिएका थिए । उनै कर्माचार्यले कोइरालालाई मार्कसिट र ट्रान्सक्रिप्ट दिएका लगिदिएका थिए ।
९ अंक ल्याएकालाई ६० अंक थपिदिएको पाइएपछि अख्तियारले विद्यार्थीसँगै मानविकी संकायको गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरिसकेको छ । यसअघि पनि कर्मचारीहरूकै संलग्नतामा फेल भएकालाई बढी नम्बर चढाएर पास गराउने र कम नम्बर ल्याएकालाई नम्बर थप गरेर बढी बनाइदिने गरिएको आंशकामा अख्तियारले पनि छानबिन जारी राखेको जनाएको छ ।
नम्बर थपेर डिग्री हात पार्ने कोइराला भने पाटन क्याम्पसमा मानविकी संकायअन्तर्गत अर्थशास्त्रका विद्यार्थी हुन् । कोइरालाले समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा डिग्री लिएका छन् । तर प्रत्येक विषयमा पाँचदेखि ६० नम्बरसम्म थपेको पाइएको छ ।
बैठकमा समिति सदस्यहरुले विगतमा पनि नम्बर थपेर पास गराउने, गोल्डमेडल दिने हुने गरेको आरोप पुष्टि भएको तर्क गरेका थिए । यसबारे अध्ययन गर्ने आन्तरिक रणनीति बनाएको रजिष्टार उप्रेतीले बताउनुभयो ।
नम्बर थपेर प्रमाणपत्र जारी भएको विषयमा छानबिन गर्न त्रिवि पनिकाले पनि प्राध्यापक अनुपकुमार श्रेष्ठको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।