प्राविधिक खटिनुपूर्व घर बनाउनुभयो ? एकमुष्ट ३ लाख पाउनुहोस्
काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेका घर प्राविधिक खटिनुपूर्व निर्माण गर्नेले एकमुष्ट ३ लाख पाउने भएका छन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको मंगलबारको बैठकले भूकम्पबाट क्षति पुगेपछि प्राविधिक खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ठ ३ लाख रुपैयाँ उपलब्ध गराउने गरी ‘निजी आवास पुनर्निर्माण अनुदान रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि’ पारित गरेको हो ।
प्राविधिक खटिनपुर्व १२ हजार घर बनेको जानकारीमा आएको प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार एकमुष्ट रकम अनुदान प्राप्त गर्न प्राधिकरणले प्राविधिक परिचालन गर्नु पूर्व नै घर पुनर्निर्माण भएको र लाभग्राही बसिरहेको भनेर स्थानीय तहले प्रमाणित गर्नुपर्नेछ ।
प्राधिकरणका अनुसार ४ लाख ७४ हजार लाभग्राहीले तेस्रो किस्ता लिइसकेका छन्। ४ लाख २३ हजार घर पुनर्निर्माण सम्पन्न भइसकेको छ। २ लाख ११ हजार घर पुनर्निर्माणका क्रममा छन् ।
बैठकले एककोठे घर पुनर्निर्माण सम्बन्धी मापदण्डलाई पनि स्पष्ट गरेको छ। जसअनुसार एक कोठे घरको भित्री भागको न्यूनतम क्षेत्रफल १ सय २० वर्गफिट कायम गर्ने र एक कोठेघरसँगै कम्तिमा भूकम्प प्रतिरोधी भान्साघर र कोठा, शौचालय, बरण्डारपाली पुनर्निर्माण गरेको हुनुपर्नेछ।
यस्तै यसअघि निर्माण भइसकेका एक कोठे घरको हकमा छुट्टै भूकम्प प्रतिरोधी भान्साघर र कोठा, शौचालय र बरण्डारपाली पुनर्निर्माण गरेको भएमात्रै अनुदान किस्ता सिफारिस गर्ने र अन्तिम किस्ता सिफारिस भइसकेको भएमा सम्बन्धित स्थानीय तहले घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदा सो कुराको एकिन गरेर मात्र दिने निर्णय पनि बैठकले गरेको छ।