मन्त्रीलाई कोट उपहार
सुर्खेत । विपन्न दलितको बजेटबाट सरकारी अधिकारीले कोट सिलाएर बजेटको दुरुपयोग गरेको भन्दै साझा पार्टीले कर्णालीका मन्त्रीलाई कोट उपहार दिएको छ। आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनी रहेको कर्णाली प्रदेशमा सरकारी पदाधिकारीले नै विपन्न नागरिकको अनुदान र बजेटमा रजाइँ गरेको भन्दै साझा पार्टीले मन्त्रीलाई कोट उपहार दिइएको हो।
हुम्लामा केहीदिन पहिला विपन्न नागरिकको बजेटबाट जिल्लाका सरकारी अधिकारी र मन्त्रीका स्वकीय सचिवले कोट सिलाएका थिए। हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, मन्त्री रावलका स्वकीय सचिव नन्दबहादुर रोकाय, प्रहरी प्रमुख र अन्य सरकारी अधिकारीले विपन्नलाई सीपमुलक तालिम दिनुपर्ने घरेलु विकास समितिको बजेटबाट कोट सिलाएका थिए।
त्यसैको विरोधस्वरुप साझा पार्टीले सामाजिक विकासमन्त्री दल रावललाई एक थान सिलाएको जिन्सको कोट नै उपहार दिएको हो। मन्त्री रावलको गृह जिल्ला हुम्ला हो। आफ्नै गृह जिल्लामा गर्दासमेत मन्त्रीले कारबाहीमा चासो नदिएको भन्दै साझा पार्टीले विरोध जनाएको हो।
यसअघि पनि जनताको बजेटमा प्रदेशका मन्त्रीहरुले विलासी गाडी चढेको भन्दै साझा पार्टीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई एक थान डमी रातो गाडी प्रदान गरेको थियो।