News

बढ्दो प्रदुषण नियन्त्रण गर्न महानगरको यस्तो योजना 

बढ्दो प्रदुषण नियन्त्रण गर्न महानगरको यस्तो योजना 


काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र आउने सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न उपत्यकाभित्र छिर्ने नाकामा सम्बन्धित स्थानीय तहसँग समन्वय गरी भेईकल क्लिनिङ सेन्टर निर्माण गर्ने जनाएको छ ।चालू आर्थिक वर्ष को नीति तथा कार्यक्रम सार्वजनिक गर्न आज भएको पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता ईश्वरमान डंगोलले उपत्यकाभित्र प्रदूषण र धुलो धुँवा नियन्त्रणका गर्नेगरी महानगरलाई नो मास्क जोनको रुपमा विकास गरिने बताउनुभयो ।

 

प्रवक्ता डंगोलले विपद् व्यवस्थापनका लागि पाँच ठाउँमा अध्याधुनिक उपकरणको व्यवस्था गरिने जानकारी दिए ।
महानगरपालिकाले नीति तथा कार्यक्रममा हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिनाथलगायतका क्षेत्रलाई पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । यस्तै हनुमानढोकादेखि स्वयम्भूसम्मको पुरातात्विक सम्पदा पदमार्गलाई कार्यान्वयनमा लगिने उल्लेख छ । 

 

विषादी परीक्षणका लागि अत्याधुनिक उपकरण ल्याउने
महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ । प्रवक्ता डंगोलले विषादी प्रयोग नभएको तरकारी तथा फलफूलमात्र बिक्री–वितरण गर्न नियमित रुपमा गुणस्तर परीक्षण गरिने जानकारी दिनुभयो । 

 

त्यस्तै महानगरले आगामी ३ वर्षभित्र काठमाडौंमा मोनो रेल सञ्चानमा ल्याउने कार्ययोजना तय गरेको छ । महानगरले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र मोनो रेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउनेसमेत उल्लेख छ ।


महानगरले प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार लागि आगामी दुई वर्षभित्र विद्यालय सञ्चालनसमेत गर्ने भएको छ । त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ सञ्चालनमा ल्याउने योजनासमेत अघि सारेको छ । 


पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ का लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरिएको थियो । 

विशेष