श्रावण, शिव र सोमबार
हरि न्यौपाने ।
आजदेखि श्रावणको सोमबार सुरु भएको छ । महिनामा सबैभन्दा उत्तम महिना अनि बारमा सबैभन्दा उत्तम बार सोमबार भगवान शिवका प्रिय बार भएकाले साउन र सोमबारले विशेष चर्चा पाएका हुन् । ‘श्रावणे शिवार्चनम्’ अर्थात् श्रावणमा शिवको अर्चना गर्ने, पूजा गर्ने परम्परा छ । भगवान श्रीरामले पनि श्रावणमा शिवलिंगको पूजा गर्ने गरेको शिवमहापुराण कोटिरुद्र संहितामा उल्लेख छ ।
शास्त्रमा साउन महिनालाई मासोत्तम अर्थात् सबैभन्दा उत्तम महिनाको रुपमा चित्रण गरिएको छ । यस महिनाभर सनातन धर्मावलम्बीहरुले सात्विक भोजन गर्ने भएकाले साउन महिना सात्विक महिना हो । धार्मिक सामाजिक हिसाबले पनि यो महिना उत्तिकै महत्वपूर्ण छ । साउनको एक गते नै शारीरिक, मानसिक विकार फाल्ने अर्थात् लुतो फालेर महिनाको स्वागत गरिन्छ ।
साउनमैँ सूर्य दक्षिणायन हुने, दिन छोटा र राता लामा हुने गर्छन । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूणिर्माका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो ।
चतुर्मास अवधिको यो महिना शिवको प्रिय महिना पनि हो । चतुर्मास अर्थात हरिशयनी एकादशी अवधिदेखि हरिबोधिनी एकादशी सम्मको अवधि । भगवान नारायण क्षीर समुद्रमा शयन गर्ने आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको अवधि, जुन साउन, भदौ, असोज र कार्तिक हुन् ।
भनिएको पनि छ महिनामा श्रावण र बारमा सोम अति उत्तम । त्यसमाथि ‘जलधारा प्रियो शिवः’ अर्थात् भगवान शिव जलधाराका प्रिय हुनुहुन्छ । त्यसैले पनि शिवलाई जलधारा अर्पण गर्न भक्तहरु बोलबम मेला लगाउँछन् । धर्मगुरु व्यासाचार्य किशोर गौतम भन्छन्–‘ क्षीर सागरमा शयन हुनुभएका भगवान शिवले भगवान शिवको अर्चनाकै लागि अधिक वर्षा गराउनुहुन्छ । त्यसैले पनि साउनमा बढी वर्षा हुने गरेको हो ।’
शास्त्रमा भनिएको छ – त्रिजलं त्रिगुणाकारं त्रिनेत्रम् च त्रियायुगम्
त्रिजन्म पापसंहारम् एक विल्हम् शिवार्पणम् ।।
अर्थात् तीन पत्र भएको बेलपत्र साउनको सोमबार भगवान शिवलाई चढाएमा तीन जन्मको दोष पनि समापन हुने विश्वास छ ।
साउनमैँ शिवको उपासनाले दुःखको निवृत्ति र सुखानुभूति हुन्छ । त्यसैले पनि साउन यस महिनामा आशुतोषलाई खुशी बनाउन शिवमन्दिरमा शिवपुराण लगाउने, रुद्री चण्डी लगाउने, शिवगान गाउने लगायत गर्छन । शिव खुशी पार्नकै लागि सनातनीहरु माछामासु खाँदैनन् । सात्विक भोजन गर्छन ।
शिवको अर्थ कल्याण हो । भगवान कल्याणप्रदायक हुनुहुन्छ कल्याणकारी हुनुहुन्छ । नाम मात्र उच्चारण गर्दा पनि मनमा कल्याण हुन्छ । आफ्नो मात्र होइन बालबच्चा, परिवार र मुलुककै कल्याण हुन्छ ।
गौतम भन्छन् –‘यस महिनामा ‘ऊँ नमः शिवायः’ वा ‘नमः शिवायः’ यति मन्त्र मात्रै उच्चारण गर्दा पनि शिवको ठूलो उपासना हुन्छ । आयु, आराेग्य, ऐश्वर्यको चाहना गर्ने व्यक्तिले भगवान शिवजीकै आराधना गर्नुुपर्छ । अनेक जन्मको पुण्य र भाग्यले मात्र साउनमा शिवको दर्शन गर्न पाइन्छ ।’ उनले बताए । उनी अगाडि थप्छन् –श्रावण महिनामा दानवहरुले पनि शिव उपासना गरेका थिए । देवताहरुले त गरेकै थिए । त्यसैले पनि मनुष्यहरुले त गर्ने प-यो नि। ’
शिव र श्रृङगार
श्रावण महिनामा महिलाहरुले विशेष गरेर श्रृङगार गर्ने गर्छन । व्रत गर्ने गर्छन । सौभाग्यसूचक रातो वस्त्र, हरियो चुरा धारण गर्छन । हात हातमा मेहेँदीले रंगाइन्छ । किन त ? गौतम भन्छन् – ‘देवं भुत्वा देवीं याजेत्’अर्थाद् देवी देवताको पूजा गर्दा देवीदेवताकै स्वरुप बनाउनुपर्छ । भगवती पार्वतीले साउनको सोमबार पारेर ५ करोड शिवलिंग पुजन गर्ने गरेको शिवमहापुराणमा उल्लेख छ ।
हुन पनि पार्वतीले भगवान शिवलाई पति पाउँ भनी साउन महिनामा व्रत बसेको सोमबारका दिन जल चढाएको तथा सौभाग्यसूचक वस्त्रश्रृङगार पहिरिएकाले अविवाहितहरु शिवजस्तै पति पाऊँ भनी कामनाका साथ व्रत बस्ने लगायतका काम गर्छन भने विवाहितहरु पतिको आयु, ऐश्वर्य र दीर्घजीवनको कामना गर्छन ।
सोमबारको व्रतले विद्या बढ्ने व्यापार बढ्ने तथा खेतीपाती, बालीनालीमा सुधार आउने जनविश्वासछ ।
यस वर्ष साउनमा ४ सोमबार परेका छन् । साउनका ५ सोमबार अति उत्तम मानिन्छ । ४ सोमबार पनि उत्तिकै महत्वपूर्ण छन् । धर्मगुरु व्यासाचार्य गौतम भन्छन्– ४ सोमबार धर्म, अर्थ, कामना र मोक्षसँग सम्बन्धित छन् ।’ ४ सोमबार वेदका प्रतीक पनि हुन् । भगवान शंकरलाई शिवोवेदः अर्थात वेद नै शिव स्वरुप मानिन्छ ।
सोमबार महत्व
पहिलो सोमबार : धर्म वा पुण्य प्राप्ति
साउनको पहिलो सोमबारको व्रतले धर्म वा पुण्य प्राप्तिमा सहयोग गर्छ र सफलता दिलाउँछ । जीवनमा आइपर्ने विघ्न बाधासँग लड्ने आत्मविश्वास बढाउँछ । यस सोमबारको व्रतले शत्रु परास्त हुने, पुण्य प्राप्ति हुने विश्वास गरिन्छ ।
दोस्रो सोमबार : अर्थको सोमबार
श्रावणको दोस्रो सोमबार कोही व्यक्तिलाई यो काम गरौँ नगरौँ भन्ने दोधार भए यस सोमबार व्रत बसी काम सुरु गरे व्यावसायिक सफलता पाउने विश्वास गरिन्छ । यो सोमबारको व्रतले स्वास्थ्य राम्रो हुने, बल र बुद्धि प्राप्ति हुने पनि कामना गरिन्छ । अर्कोतर्फ दोस्रो सोमबार व्रत बसी शिवलाई जल चढाएमा रोगसँग लड्ने क्षमता बढ्ने विश्वास गरिन्छ ।
तेस्रो सोमबार : मनकामना पूर्ण हुने
साउनको तेस्रो सोमबार कामनाको सोमबार हो । यस सोमबार व्रत बसे मनोकामना पूर्ण हुने, आफूले चिताएका इच्छित फल पूरा हुने विश्वास गरिन्छ । यस दिनमा वर्त बसेर भगवान शिवका मन्त्रहरु पाठ गरि पूजा गर्नु उत्तम मानिन्छ ।
चौथो सोमबार : अदृष्ट पुण्य प्राप्ति, मोक्ष गमनका मार्ग पहिल्याउने
साउन महिनाको अन्तिम सोमबार व्रत बस्नाले अदृष्ट पुण्य प्राप्ति हुन्छ । धर्म वा जीवनको अन्तिम गन्तब्य मोक्ष वा मुक्तिको मार्ग पनि भएकाले मुक्तिका लागि मार्ग खुल्ने विश्वास गरिन्छ । अर्कोतर्फ भगवान शिव साउनभर व्रत बस्नेसँग खुशी भई उसलाई सुख दिनुहुन्छ भन्ने पनि विश्वास गरिन्छ ।
पाँचौ सोमबार अझै उत्तम मानिन्छ । मुक्तिका क्रममा भगवानको समीप पुर्याउँछ ।