प्रतिष्ठानमा राजनीति नगर्न प्रधानमन्त्रीको चेतावनी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई राजनीति नगर्न कडा सजग गराउनुभएको छ । राजनीति गर्नेमाथि कडा कारबाही गर्ने उहाँले चेतावनी दिनुभयो ।
प्रतिष्ठानका कूलपतिसमेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई राजनीतिक खेलको मैदान बनाइएको भन्दै आपत्ति जनाउनुभयो ।
प्रतिष्ठानको गैरजिम्मेवार कामबारे छानबिन गर्न गठित समितिले तयार गरेको प्रतिवेदन आफूलाई नदेखाई सार्वजनिक गरिएकोमा आपत्ति जनाउनुभयो । प्रतिवेदन सार्वजनिक गरिएकोमा प्रधानमन्त्रीले कडा आपत्ति जनउनुभएको थियो ।
प्रधानमन्त्री ओलीले प्रतिष्ठानलाई तत्काल स्वच्छ र पारदर्शी बनाउन केन्द्रित हुन पनि सम्बन्धित निकायलाई सचेत गराउनुभयो । सरकार कसैको दवाव र प्रभावमा नपर्ने भएकाले सोही अनुसार काम गर्न निर्देशन दिनुभयो ।