News

एसइईमा नयाँ व्यवस्था, पूरक परीक्षा सबैले दिन पाउने

एसइईमा नयाँ व्यवस्था, पूरक परीक्षा सबैले दिन पाउने

काठमाडौं । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ ।

गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना पनिकाले सार्वजनिक गरेको थियो । यद्यपि ‘माथिको आदेश’मा सूचना परिमार्जन गर्नुपरेको पनिकाका पदाधिकारीहरूले बताएका छन् । पूरकको सिद्धान्तअनुसार बढीमा दुई विषयसम्मको पुनः परीक्षा दिन पाइन्छ । नयाँ सूचनाअनुसार परीक्षार्थीले चाहेजति सबै विषयमा पूरक परीक्षा दिन पाउने छन् ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले पूरक परीक्षाको मर्म नै बढीमा दुई विषयसम्म पुनः परीक्षा दिन पाउने बताए । उनले भने, “त्यसैअनुरूप सूचना प्रकाशित गरेका थियौँ । माथिबाट सबै विषयमा परीक्षा गर्नू भनियो । यो पूरक परीक्षाको मर्म नै होइन । यसले प्रवेशिकाको स्तरलाई कमजोर तुल्याउने छ ।” हालै प्रकाशित २०७५ सालको एसईई परीक्षाको नतिजा लाजमर्दो छ । यसलाई ढाक्न शिक्षा मन्त्रालयले नै सबै विषयमा पूरक परीक्षा दिन पाउने व्यवस्था गराएको शिक्षाविद्हरूको आशंका छ ।

पनिकाले साउन २६ र २७ गते पूरक परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । पछिल्लो निर्णयअनुसार आगामी भदौ १ देखि ११ गतेसम्म पूरक परीक्षा सञ्चालन गरिनेछ । पनिकाका अनुसार सी वा सीभन्दा कम ग्रेड ल्याएका परीक्षार्थीहरू तीन लाख ६० हजार छ सय छन् । ती सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप परीक्षाको व्यवस्थापन तथा तयारी गर्नुपर्ने हुन्छ ।

“एक, डेढ लाखले मात्र परीक्षा दिनेछन् भन्ने अनुमानका आधारमा तयारी गर्नु गल्ती हुनेछ” उनले भने, “त्यस्ता विद्यार्थी सबैले परीक्षा दिनेछन् भन्ने मान्यताअनुरूप तयारी गर्नुपर्ने हुन्छ । सबैका लागि १५ लाख उत्तरपुस्तिका तयार गर्नुपर्ने हुन्छ । यो भनेको झण्डै एसईई सरहकै परीक्षा हुनेछ । ” पूरक परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले साउन १० गतेसम्ममा फाराम भर्नुपर्ने र साउन १५ गतेसम्ममा जिल्लास्तरीय निकायले फारामलाई एकीकृत गर्नुपर्ने गरी समयावधि तोकिएको छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।

एसइई

विशेष