जहाजभन्दा सुरक्षित र रेलभन्दा छिटो कुद्ने हाइपरलुप बनाउँदै नेपाली ठिटो
काठमाडौं । उन्नाइसौं शताब्दीमा आविष्कार भएको रेल र बीसौं शताब्दीको आविष्कार हवाईजहाजका भरमा चलिरहेको दुनियाँलाई एक्काइसौं शताब्दीले त्योभन्दा तीव्र गतिको केही दिनेवाला छ ? ‘जरुर !’ वैज्ञानिकहरू भन्दै छन्, ‘अबको केही वर्षमै हाइपरलुप सेवामा हाजिर हुनेछ ।’
जहाजभन्दा सुरक्षित र कुनै पनि रेलभन्दा छिटो कुद्ने गरी परिकल्पना गरिएको हाइपरलुपको तीव्र गतिमाथि आइतबार मात्रै अमेरिकाको लसएन्जलसमा विश्वव्यापी प्रतियोगिता भएको थियो, जसको विजेता समूहमा एक नेपाली युवा पनि सामेल छन् ।
जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिखमा कम्प्युटेसनल मेकानिक्सका विद्यार्थी दिनेश पौडेल र उनका सहपाठी टोलीले सबभन्दा छिटो कुद्ने हाइपरलुपको पोड (रेलजस्तै कुद्ने डब्बा) बनाएर संसारभरका प्रतिस्पर्धीलाई उछिनेको हो । ‘हाम्रो एक वर्षसम्मको अहोरात्र मिहिनेतले फल दिएको छ,’ प्रतिस्पर्धा जितेपछि पौडेलले कान्तिपुरसँग फोनमा भने, ‘सपनाले आकार लिएको छ र मलाई असाध्यै गर्व अनुभव भइरहेको छ ।’
लसएन्जलसस्थित स्पेस एक्स भन्ने हाइपरलुप कम्पनीले गरेको विश्वव्यापी प्रदर्शनमा पौडेल सम्मिलित समूहले बनाएको उक्त पोड प्रतिघण्टा ४ सय ५७ किलोमिटर गतिले कुदेको थियो । प्रतिघण्टा हजार किमिसम्म कुद्न सक्ने अनुमान गरिएको हाइपरलुप परीक्षणकै चरणमा छ ।
‘मापनअनुसार यो हालसम्मकै उच्च गतिको आवागमनको साधन हुनेछ,’ पौडेलले भने । सुरुङजस्तो सिधा ट्युबमा तीव्र गतिले कुद्ने यन्त्र हो, हाइपरलुप । जमिनभन्दा माथि र हावाको सम्पर्कभन्दा बाहिर हुने भएकाले यो सुरक्षित र ज्यादा गतिको यातायात साधन सावित भएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।