चिनिया स्याऊ स्वास्थ्यका लागि हानिकारक
काठमाडौँ । अचेल बजारमा छ्यासछ्यास्ती पाइने चिनिया स्याउ स्वास्थ्यका लागि हानिकारक रहेको बुझिएको छ । बढ्दो माग रहेको चिनिया स्याउको विषादी परिक्षण नै नगरी बजारमा भित्रिने गरेको छ । विना परीक्षण खाइने स्याउ स्वास्थ्यका लागि हानिकारक हुने डाक्टरहरु बताउँछन् ।
केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख काञ्चनराज पाण्डेले चिनिया स्याउ हालसम्म परीक्षणका लागि प्रयोगशालामा नआएको नेपाल आजलाई जानकारी दिनुभयो । ‘‘हामी बोर्डरमा पुग्दैनौँ । भन्सार विन्दुबाट सम्बन्धित निकायले नपठाएसम्म हामीले परीक्षण गर्न सक्दैनौँ । हालसम्म परीक्षण भएको छैन ।’’ उहाँको भनाई थियो ।
सरकारले विषादी परीक्षणको जिम्मा कृषि विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय कृषि प्रयोगशालालाई जिम्मा दिएको छ । केन्द्रीय कृषि प्रयोगशाला मातहत परीक्षण गर्ने ७ निकाय छन् ।
प्रदेश १ को विर्तामोड, दुईको सर्लाहीको नवलपुर, प्रदेश तीनको कालीमाटी, गण्डकी प्रदेशको पोखरा, प्रदेश ५ को बुटवल र सुदूरपश्चिम प्रदेशको अत्तरिया, नेपालगञ्जमा विषादी परीक्षण हुन्छ ।
चिनसँगका नाकामध्ये हाल सञ्चालनमा रहेका नाकामध्ये व्यापारीक कारोबारको काम रसुवागढी–केरुङ नाकाबाट मात्र हुने गरेको छ । यस आधारले पनि रसुवागढी केरुङ नाकाबाट सामान आइरहेको छ ।
सरकारले यस नाकामा विषादी परीक्षणको व्यवस्थित ल्याब स्थापना गर्न सकेको छैन । चिनीया स्याउ निर्यातको प्रमुख देशमध्ये नेपाल पनि एक हो । झट्ट हेर्दा आकर्षक देखिने चिनिया स्याउ नेपाली बजारमा बढी मुल्य पनि पर्छ । तथापि उपभोक्ताहरुले किन्ने गरेका छन् । चिनिया स्याउको रसुवागढी केरुङ नाकाबाट मात्रै गत आर्थिक वर्ष ०७५/०७६ मा ३ अर्ब २६ करोड ८५ लाख १९ हजार २ सय रुपैयाँको मुल्य बराबरको स्याउ नेपालमा आयात भएको प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाका प्रमुख एवं वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदिप घिमिरेले नेपाल आजलाई जानकारी दिनुभयो ।
गत जेठ १५ मा खुलेपनि तातोपानी नाका सञ्चालनमा नरहेकाले हाल केरुङनाकाबाट मात्रै चिनिया स्याउ आयात हुने गरेको छ । केरुङ नाकाबाट विभिन्न समयमा मनाइने चाडपर्व लक्षित गरी स्याउको आयात बढी हुने गरेको कार्यालय प्रमुख घिमिरेको भनाइ छ ।
क्वारेन्टिन कार्यालयको तथ्याङक अनुसार यस नाकाबाट गत साउनदेखि असार मसान्तसम्म ३ अर्ब २६ करोड ८५ लाख १९ हजार २ सय रुपैयाँको ४ करोडकाे ८ लाख ५६ हजार ४ सय ९० किलो स्याउ आयात भएको छ ।
गत आर्थिक वर्षको साउन महिनामा ११ लाख ४२ हजार ६ सय २९ , भदौमा १० लाख ५५ हजार तीन सय ८२ असोज मा ४३ लाख २८ हजार चार सय ६५ , कम्तिमा ४० लाख २५ हजार तीन सय ३० , मंसिरमा २७ लाख ८९ हजार आठ सय तीन , पुस महिनामा २९ लाख ९६ हजार तीन सय ५० , माघ महिनामा २६ लाख ११ हजार चार सय ३० केजी स्याउ आयात भएको छ ।
यस्तै फागुनमा ४६ लाख ५६ हजार एक सय ७० चैत्रमा ४७ लाख २२ हजार सात सय ९० , वैशाख मा ५६ लाख १५ हजार ६ सय ३४ र जेठमा ५५ लाख नौ हजार एक सय ५७ केजी आयात भएको हो । गत असारमा १४ लाख ३ हजार ३ सय ५० किलो स्याउ आयात भएको थियो ।
यस नाका बाट भित्रनेमा सब भन्दा बढी चिनियाँ स्याउ रहेको छ भने दोस्रो सबैभन्दा बढी भित्रिनेमा लसुन रहेको छ । केरुङ नाकाबाट तयारी कपडा, विद्युतीय सामाग्री, कस्मेटिक सामानका कन्टेनरहरु पनि नेपाल भित्रिन्छन् ।