News

व्यापारीलाई फसाउन युवतीको प्रयोग, नांगै भएको भिडियो बनाएर ४० लाख फिरौती माग

व्यापारीलाई फसाउन युवतीको प्रयोग, नांगै भएको भिडियो बनाएर ४० लाख फिरौती माग

झापा । व्यापारीलाई प्रेमजाल (हनी ट्रयाप) मा पारेर ४० लाख रुपैयाँ फिरौती माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँदिल्ली बस्दै आएकी युवती प्रयोग गरेर बिर्तामोडका एक व्यापारीलाई बन्धक बनाई फिरौती माग गरिएको थियो । ५ साउनभित्र रकम दिने सर्तमा छुटेका व्यापारी प्रहरीकहाँ पुगेपछि फिरौती माग्नेहरू फन्दामा परेका हुन् । प्रहरीले व्यापारीको नाम गोप्य राखेको छ ।

 

‘पीडित व्यापारी हामीलाई भेट्न त आए, तर निकैबेरसम्म केही बताउनै सकेनन्,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहन थापाले भने, ‘आउनेबित्तिकै उनले पानी मागेर पिए । निकै आत्तिएका थिए । हामीले डेढ घन्टासम्म काउन्सिलिङ गरेपछि मात्र उनले कुरा खोले ।’ पक्राउ परेका सबैलाई प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

 

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–४ का मेराज खान र सुजन विक, इलाम फाकफोकथुम गाउँपालिका–१ की रितु फियाक लिम्बू र भारतको किसनगञ्ज घर भएका प्रकाश दास छन् । खान बिर्तामोडको भद्रपुर रोडस्थित मामा–भान्जा ग्यारेजका सञ्चालक हुन् । दास सोही ग्यारेजका कामदार हुन् । विकले भारतको दार्जिलिङबाट सञ्जु क्षेत्री नामबाट आधार कार्डसमेत बनाएका छन् । उनीहरूको साथबाट प्रहरीले बा.१५च ७३३९ नम्बरको कार, लागूऔषध स्कुफ तीन सय एमएल, प्रोप्रानोल १५ चक्की, नाइट्रोसन ६ चक्की र कालो प्लास्टिकको पेस्तोलजस्तो देखिने एउटा वस्तु बरामद गरेको छ ।

 

कस्तो छ घटना विवरण?
प्रहरीका अनुसार बिर्तामोडमा व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायीलाई जया खान नाम बताउने २० वर्षीया युवतीले गत २८ असारदेखि फोन र इमोबाट नियमित सम्पर्क गर्न थाल्छिन् । साउनको पहिलो दिन व्यापारीलाई भेट्न बोलाइन् । साँझ साढे सात बजे युवती र व्यापारी कुमारी बैंक छेउमा भेट्छन् । युवतीले व्यापारीलाई साथीको कोठामा जाऔँ भन्दै बैंक छेउको गल्ली हुँदै एउटा घरको माथिल्लो तलाको कोठामा लग्छिन् ।

 

उनीहरू कोठामा रहेका वेला राति १० बजे केही अपरिचित व्यक्ति हतियारसहित पस्छन् । उनीहरूले व्यापारीलाई कपडा खोल्न लगाएर भिडियो खिच्छन् । युवतीसँग नांगै भेटिएको भिडियो सामाजिक सञ्जालमा हालेर भाइरल बनाइदिने धम्की दिँदै ४० लाख रुपैयाँ फिरौती माग्छन् । फिरौती रकमका लागि व्यापारीलाई उनीहरूले ५ साउनसम्मको म्याद दिँदै रकम नदिए ज्यान मार्नेसम्मको धम्की दिन्छन् ।

 

उनीहरूले युवतीलाई भने छाडिदिन्छन् । व्यापारीलाई मेराज खानको रोहबरमा पाँच साउनसम्ममा पैसा लिने गरी मुक्त गरिन्छ । व्यापारी र मेराज खानबीच पहिलेदेखि नै चिनजान थियो । व्यापारी मुक्त भएकै दिनदेखि उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी पैसा नदिए ज्यान मार्ने धम्की दिन्छन् । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

झापा हनी ट्रयाप

विशेष