News

मेलम्ची आयोजनामा मनोमान : प्रतिस्पर्धाबिनै पूर्वमाओवादीलाई धमाधम ठेक्का

मेलम्ची आयोजनामा मनोमान : प्रतिस्पर्धाबिनै पूर्वमाओवादीलाई धमाधम ठेक्का

काठमाडौं : मेलम्ची खानेपानी आयोजनाले पूर्वमाओवादी कार्यकर्तालाई बिनाप्रतिस्पर्धा धमाधम ठेक्का दिन थालेको छ। आयोजनाले साविकको ठेकेदार सीएमसीले छाडेर बाँकी रहेका कामको जिम्मेवारी सेटिङमा पूर्वमाओवादी कार्यकर्तालाई दिएको हो।

आयोजना प्रमुख सूर्यराज कँडेलले बिनाप्रतिस्पर्धा तीन करोड रुपैयाँको मेलम्चीको मुहान (हेडवक्र्स) मध्येको काम श्रेष्ठ कन्स्ट्रक्सन भन्ने ठेकेदारलाई दिएका थिए। कन्स्ट्रक्सनले पूर्वमाओवादीका तीन कार्यकर्तालाई उक्त ठेक्काको पनि उपठेक्का लगाएको छ।

मन्त्रिपरिषद्ले गत जेठ ६ गते कुल ४३ करोड रुपैयाँका काम बिनाप्रतिस्पर्धा जसलाई दिए पनि हुने गरी निर्णय गरेको थियो। सोही निर्णयको आडमा अहिले ती ठेक्का धमाधम पूर्वमाओवादी कार्यकर्तालाई वितरण सुरु भएको हो। डेढ अर्ब रुपैयाँमा पूरै मेलम्चीको काम सकिने भए पनि मन्त्रिपरिषद्ले दुई अर्ब ६३ करोड रुपैयाँमा ठेक्का दिने निर्णय गरेको थियो।

आयोजना प्रमुखसित वार्ताका आधारमा ठेक्का लिन सफल श्रेष्ठले माओवादीका तीन कार्यकर्ता चिरन तामाङ, अभिषेक तामाङ र मोदनाथ भण्डारीलाई उपठेक्का दिएका छन्। कँडेलले तीन करोड रुपैयाँमा श्रेष्ठ कन्स्ट्रक्सनलाई दिइएको ठेक्का उसले माओवादी कार्यकर्तालाई दिएको हो। उपठेक्का लिएर उनीहरूले केही दिनअघि मेलम्ची खोलामा लगाएको ग्याभिन वाल (ढुंगाको जाली भएको पर्खाल) बाढीले बगाएको थियो।

आयोजना स्रोतका अनुसार पूर्वमाओवादी कार्यकर्ताले ठेक्का लिएपछि मेलम्ची खोलामा ग्याभियन वाल लगाउन सुरु गरेका थिए। तर लगाउँदालगाउँदै बाढीले बगायो। ठेकेदराले १२ लाख रुपैयाँको पर्खाल लगाएर ५० लाख रुपैयाँको बिल कँडेलसमक्ष पेस गरेका छन्। बिलमा काम गर्न नपाएको दाबी (क्लेम) पनि समावेश छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

मेलम्ची खानपानी

विशेष