१० दिनदेखि स्थगित प्रतिनिधि सभाको बैठक आज बस्दै
काठमाडौँ । बाढी, पहिरो र डुबानबारे छलफल गर्दा कसले पहिला बोल्ने भन्ने विषयमा विवाद भएपछि स्थगित भएको संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक १० दिनपछि आज दिउँसाे एक बजे बस्न लागेको हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले असार ३० गतेको बैठकमा बाढी, पहिरो र डुबानबारे छलफल गर्न स्थगन प्रस्ताव दर्ता गराएका थिए । तर बैठकको सुरुमै गृहमन्त्री रामबहादुर थापाले बोल्ने कि सिधै प्रस्तावमाथि छलफल गर्ने भन्ने विषयमा विवाद हुँदा बैठक बस्न सकेको थिएन ।
प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सदनका नियमित कामकारबाही स्थगित गर्ने प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान राखेका छन् भने सत्तापक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । दुवै पक्ष मिलाएर लैजान सभामुख कृष्णबहादुर महराले कार्यव्यवस्था बैठकमा छलफल गरी सहमति जुटाउने जनाइएको छ ।