चन्दाका लागि ‘इमोस्नल’ आग्रह
काठमाडौं । चन्दा माग्ने शैलीका कारण पवित्र सेवा समाज नेपालकी अध्यक्ष दीक्षा चापागाईं आलोचित भएकी छिन् । दीक्षाले स्कुटरको पछाडि तीन र अगाडि दुई जना बालबालिकालाई राखेर एक बालकलाई पछाडिबाट धकल्न लगाएको तस्बीर मंगलबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन् ।
सो तस्बीरको क्याप्सनमा उनले लेखेकी छिन्, ‘तस्विर हेरेर थापा पाई हाल्नु भो होला । हामीलाई के चाहिएको रहेछ भन्ने कुुरा ।’ अर्थात दीक्षाले आफ्नो संस्थालाई गाडी चाहिएको आसयमा यस्तो आग्रह गरेकी छिन् । तर बालबालिकाको दुरुपयोग गरेर अवस्था दुरुह छ भन्ने सन्देश दिने गरी फोटो पोस्ट गरिएको भन्दै शैलीको आलोचना भएको छ ।
अवस्था दयनीय छ भन्ने देखाउनै लागि मात्र फोटो खिचिएको जस्तो पनि देखिन्छ । किनभने तस्बीरमा न त दीक्षा आफूले हेलमेट लगाएकी छिन् त अरु बालबालिकाले । अगाडिका दुई बालिकाहरु त यति साना छन् कि उनीहरुलाई त्यसरी राखेर यात्रा गराउन पनि सकिन्न ।
तस्बीर फोटो सेसनका लागि मात्रै नभएर वास्तविक नै भए पनि बालबालिकालाई र आफू पनि स्वयं यति जोखिमपूर्ण यात्रा गर्नु उचित हुँदैन । दीक्षाले एकैपटक पाँच बालबालिाकालाई स्कुटरमा राखेर स्कुल पुर्याउनुको सट्टा दुई पटकमा पनि सो काम गर्न सक्थिन भन्ने प्रश्न पनि उठेको छ ।
यससम्बन्धमा कुरा गर्न दीक्षालाई पठाइएको प्रश्नको जवाफ प्राप्त भइसकेको छैन ।