कर्णाली राजमार्गका दर्जन बढी ठाउँमा पहिरो
कालिकोट । लगातारको वर्षाका कारण कर्णाली राजमार्गको दर्जन बढी ठाउँमा पहिरो जाँदा सवारी आवतजावत अवरुद्ध भएको छ । राजमार्ग अबरुद्ध भएपछि लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन चल्न सकेका छैनन् ।
राजमार्गको दैलेख सडक खण्डको तल्लो ढुङगेश्वरमा ३ ठाउँमा, पालतडामा १ ठाउँमा राचुली, सुनार खोला, कालिकोट र दैलेखको सिमाना नजीकको घट्टेखोला, जिल्लाको शुभकालिका गाउँपालिकास्थित गगने खोला, जिल्ला सदरमुकाम नजीकैको सुनार खोला, मोल्फा, पिली, खल्लागाडलगायतका एक दर्जन बढी ठाउँमा पहिरो गएको छ ।
गगने खोलाको भीरमा वर्षेनी वर्षायाममा पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्ष पनि गगनेको भीरमा पहिरो जाँदा सडक अबरुद्ध भएको हो । ठूलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पुरै भत्काई सडक अवरुद्ध हुँदै आएको छ।
सडक अवरुद्ध हुँदा जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगंज र नेपालगञ्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौं यात्रुहरु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।