प्रधानमन्त्रीले रअ प्रमुख नभेटेको सरकारका प्रवक्ताकाे दाबी
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले भारतीय गुप्तचर निकाय ‘रअ’ का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नभेटेको दाबी गर्नुभएको छ ।
बिहीबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बास्कोटाले प्रधानमन्त्रीले रअका प्रमुखसँग भेटेकोबारे आफूलाई थाहा नभएको प्रष्टीकरण दिनुभयो ।
‘प्रधानमन्त्रीले भेटघाट गरेका छैनन् । सञ्चार माध्यमले हुँदै नभएको कुइरिमण्डलको खेती नगरौँ । जस जसलाई भेट्ने बानी छ उनीहरुले भेटे होलान् ।’ मन्त्री बाँस्कोटाको भनाइ थियो ।
‘रअका प्रमुख यदि आएको हो र भेटेको हो भने पनि प्रचलित डिप्लोमेटिक प्राटोकलकै आधारमा भेटघाट हुनुपर्छ । क–कसले भेट्नु भयो हामीलाई थाहा पनि छैन’ उहाँको भनाइ थियो ।’ प्रधानमन्त्रीले भारतका एक कर्मचारीसँग भेट गरिराख्नुपर्ने आवश्यकता नभएको उहाँको तर्क थियो ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल शनिबार नेपाल भ्रमणमा आएका थिए । त्यसक्रममा उनले प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरुलाई भेटेर सोमबार स्वदेश फर्किएको समाचार सार्वजनिक भएपछि आज सरकारका प्रवक्ताले त्यसको खण्डन गरेका हुन् ।