२४ अर्ब गायब पार्ने १ हजार ठेकेदार कम्पनीमाथि छानबिन
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारसँग सम्झौता गरी वर्षौसम्म विकास आयोजना सम्पन्न नगर्ने झन्डै १ हजार ठेकेदार कम्पनीमाथि विस्तृत अनुसन्धान थालेको छ । ती ठेकेदार कम्पनीले मोबिलाइजेसनको नाममा अर्बौं रुपैयाँ लगेर काम नगरेपछि अख्तियारले त्यस्ता कम्पनीमाथि आक्रामक छानबिन थालेको हो ।
अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले सरकारद्वारा सञ्चालन भएका आयोजनाहरूमा निर्माण कार्यको ठेक्का लिएर काम नगर्ने कम्पनीमाथि विस्तृत अनुसन्धान थालिएको जानकारी दिए । आयोगले बुधबार विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँग गरेको छलफलका क्रममा प्रमुख आयुक्त घिमिरेले ठेक्का लिएर समयमा नै काम नगर्ने प्रवृत्तिले विकास निर्माणका कार्यमा गम्भीर बाधा परेकाले अख्तियारले त्यस्ता ठेकेदार कम्पनीमाथि छानबिन सुरु गरेको जानकारी दिएका हुन् ।
प्रमुख आयुक्त घिमिरेले अख्तियारले केही समयअघि गरेको अध्ययनका क्रममा १ खर्ब १८ अर्बका १ हजार ८४८ वटा ठेक्का सम्झौता सुरु भए पनि ती सबै ठेक्काहरू निर्धारित समयमा सम्पन्न नभएको पाइएको जानकारी दिए । अख्तियारका अनुसार ती ठेक्का मध्ये १ हजार ३२ वटा ठेक्काको म्याद थपसमेत नभएको पाइएको छ । प्रमुख आयुक्त घिमिरेले ठेक्काको कुनै काम नभए पनि ठेकेदारहरूले २० प्रतिशतसम्म पेस्की रकम लिँदा राज्यकोषबाट २४ अर्ब रुपैयाँ गएको र सो रकमको सदुपयोग नभएको पाइएकाले रकम जोखिमयुक्त अवस्थामा पुगेको जानकारी दिए । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग नवीन घिमिरे