कसरी जन्मियो छाता ?

कसरी जन्मियो छाता ?

बर्षाको समय छ । घरबाट निस्कने बेलामा पक्कै पनि तपाईंले वर्षादीको जोहो गरेको हुनुपर्छ । पानी कतिबेला दर्किने हो, पत्तो हुन्न । हरेक मानिसको घरमा छाता अनिवार्य हुन्छ । यतिबेला त झन् अधिकांश मानिसका हातैमा छाता हुने गर्छ । मानव जीवनसंग अन्योन्याश्रित सम्बन्ध रहेको छाता कसरी जन्मियो ? यसको उत्तर धेरैलाई थाहा छैन् । 

एकपटक यस्तो जमाना थियो– छाता ओडेर हिँड्ने मानिसलाई व्यंग्य हान्दै भनिन्थ्यो– ‘मर्द हौ भने घामपानीसंग लड । महिलाजस्तै छातामा ढाकिएर किन हिँड्छौ ?’ यस्ता व्यंग्य हानेर छाता ओड्नेलाई दिक्क बनाइएको थियो । जसको कारण सो¥हौं शताब्दीसम्म युरोपमा महिलाले यसको अलि अलि प्रयोग गरे पनि छाता त्यति लोकप्रिय हुन सकेन । 

त्यतिबेला कपडा, प्लास्टिकको छाता नभएर छालाबाट छाता बनाइन्थ्यो । १६ औं शताब्दीमा जब पादरीले छाताको प्रयोग गर्न थाले, त्यसपछि भने छाताले केही आदार सम्मान प्राप्त गर्न थाल्यो । मानिस फाटफुट छाता ओडेर हिँड्न थाले । पादरी पोपले महिला, पुरुष दुवैलाई छाता लिएर नहिँड्न आदेश दिए । उनीहरु चाहन्थे– आफूहरुसंग अनुमति लिएर मात्र छाता ओडियोस् । उनीहरुको आदेश विरुद्ध जानु भनेको धर्मको खिलाप हो । लण्डनका गोराहरुले आदेश टेरेनन् । बरु धेरै भन्दा धेरै युवा रंगीविरंगी छाता लिएर सडकमा देखिन थाले । बरु रेसमी र सूतीका कपडाका छाता पो देखिन थाले । 

बेलायतका पुरुषद्वारा छाता प्रयोगको शुरुवात जोन्स हौनवेले गरे । एक पटक पुरुषले छाताको प्रयोग गरेपछि अन्य पुरुषले छाताको प्रयोग नगर्ने भावना टुट्दै गयो । छाता महिला र पुरुष दुवैमा समान ढंगले प्रचलित बन्न पुग्यो । पुरुषले छाताको रंग कालो चुने । महिलाको रुचि रंगीविरंगी रंगका छातामा देखियो । अहिले पनि रंग छनोट त्यसै खालको हुने गर्छ । 

भनिन्छ, छाताको जन्म ईशाभन्दा ११ सय वर्ष पहिले चीनमा भएको थियो । प्राचीन मिश्रमा पनि छाताको उल्लेख भएको पाइन्छ । छाताको प्रयोग घामपानीबाट बच्न गरिन्नथ्यो । वास्तवमा त्यतिबेलाको छाता अहिलेको आकारमा नभएर छत्र थियो । त्यसबेला छाता व्यक्तिको स्तर र सामाजिक प्रतिष्ठासंग जोडिएको थियो । मिश्रका सम्राटहरुको मूर्तिमा ठूला छत्रको आकृति पाइन्छ । यस्तो विश्वास गरिन्छ कि यही छत्रबाट उनीहरुलाई स्वर्गबाट दैवी शक्ति प्राप्त हुन्थ्यो ।

 प्राचीन चीनमा मानिस सुनले बनेका, हीरा–मोतीजडित छत्र चाडपर्वको अवसरमा जुलुसको अगाडि लिएर हिँड्थे । जापानका सम्राट छत्रविना महलबाट बाहिर निस्कदैनथे । जापानी सम्राटको छत्रको रंग राता हुन्थ्यो । रातो रंग परमसत्ताको सूचक थियो । भारतमा पनि राजाको छत्र अलग रंगको हुन्थ्यो । दरबारियालाई तिनीहरुको स्तरअनुसार विभिन्न प्रकारका छत्र प्रदान गरिन्थ्यो । प्राचीनकालमा भारतमा सेनापतिको छत्रले ठूलो महत्व राख्थ्यो । युद्धमा सेनापतिको छत्र ढल्नुको अर्थ सेनाको पराजय हुनु थियो । 

घामपानीबाट बच्न छाताको उपयोग सबैभन्दा पहिले युनानबाट शुरु भयो । जसको शुरुवात स्त्रीहरुले गरे । यहीँबाट छाता प्रचलित भएर युरोप गयो । बेलायत पुगेर छाताको डिजाइनमा सुधार आयो । सजिलोका लागि छाता मोड्न सक्ने र हलुको बनाउन त्यस्तै पदार्थको प्रयोग गर्न थालियो । सवैभन्दा ठूलो व्यापारी बनेर बेलायतले छाताको व्यापार विश्वभर फैलायो । संसारमा छाताको प्रयोग नगर्ने शायदै होलान । एउटा लामो कथा बोकेर भएपनि छाता प्रत्येक घरको अभिन्न मित्र बन्न सफल छ । 
 

छाता पादरी पोप

संम्बधित खबर

विशेष