चिनी उद्योगले साताभित्र भुक्तानी सुरु नगरे राजमार्ग ठप्प पार्ने किसानको चेतवानी

काठमाडौं : हरेक वर्ष उखु भुक्तानीको विषयलाई लिएर आन्दोलनमा उत्रिएका पश्चिम नवलपरासीका उखु किसानहरूले यस वर्ष पनि आन्दोलनको घोषणा गरेका छन्। चिनी उद्योगले एक साताभित्र भुक्तानी सुरु नगरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्नेलगायतका आन्दोलनका कार्यक्रम उखु उत्पादक कृषक समितिले सार्वजनिक गरेको हो।
भुक्तानीको विषयलाई लिएर सधैँ आन्दोलन गर्न बाध्य किसानलाई एक साताभित्र मिलबाट भुक्तानी गर्ने कार्य सुरु नभए राजमार्ग अवरुद्ध गरिने समितिका अध्यक्ष उमेशचन्द्र यादव बताउँछन्। चालू आर्थिक वर्षमा पश्चिम नवलपरासीमा सञ्चालनमा आएका तीन ठूला चिनी मिलले करीब ७० करोड रुपैयाँ बराबर किसानसँग उधारोमा उखु खरिद गरेको देखिन्छ।
मिललाई किसानले उधारोमा उखु दिन बाध्य भएको तर उखु ‘क्रसिङ सिजन’ बितेको २ महिना भइसक्दा पनि मिलले अझै किसानलाई भुक्तानी नदिएको समितिको निष्कर्ष छ। त्यस्तै चालू आर्थिक वर्षमा मिलहरूले उखु क्रसिङ डेढ महिना ढिला सुरू गरी बैसाख मसान्तमा क्रसिङ बन्द गरेकाले करीब ५ करोड बराबरको एक लाख क्विन्टल उखु खेतमै खेर गएको समितिले जानएको छ।
उखु मिलहरूलाई उधारोमा दिएको उखुको भुक्तानी रकम किसानले माग गरेका छन्। मिलले चिनीको बिक्रीवितरण गरे पनि किसानलाई भुक्तानी नदिएको भन्दै किसानहरुले आन्दोलन घोषणा गर्न बाध्य भएको बताए। मिलहरुले उखु किसानलाई ढुवानी खर्च भनेर ५ देखि २० प्रतिशतसम्म ठगिरहेको किसानको आरोप छ।
साथै नेपाल सरकारबाट प्राप्त अनुदान रकममा पनि मिल सञ्चालकहरुबाट व्यापक अनियमितता भएको समितिको आरोप छ। किसानको समस्या सबैको साझा समस्या भन्दै प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले रकम यथाशीघ्र भुक्तानीका लागि पहल भइरहेको बताए।
जिल्लामा इन्दिरा, बागमती र लुम्बिनी चिनी मिल गरी ३ ठूला चिनी मिल छन्। जिल्लामा चालू आर्थिक वर्षमा करीब १२ लाख क्विन्टल उखु उत्पादन भएको तथ्याङ्क छ भने पश्चिम नवलपरासीमा करीब १३ हजार उखु कृषक रहेका छन्।
उखु किसान आन्दोलन