News

कौसी खेतीबाटै सुरु हुन्छ अर्गानिक अभियान

कौसी खेतीबाटै सुरु हुन्छ अर्गानिक अभियान

काठमाडौं । स्वदेशमा उत्पादित होस् या आयात गरिएको तरकारी, बिनाविषादीको पाउन प्रायः मुस्किल बन्दै गएको छ । विषादी जाँचको सरकारी प्रयासले पनि यही तथ्य देखाएको छ । यसले एउटा गम्भीर प्रश्न हाम्रासामु के छाडेको छ भने हाम्रा भान्छा विषादीमुक्त बनाउन सकिन्न?, के अर्गानिक अभियान सहरी घरको कौसीबाटै सुरु हुनसक्छ? बजारमा बढ्दो विषादीयुक्त तरकारीको बिगबिगीलाई निरुत्साहित गर्ने हो भने कौसी या करेसामा तरकारी फलाउन केही जाँगर चाहिन्छ । तब भान्छालाई विषादीमुक्त बनाउन सकिन्छ । सेयर कारोबारी दिलीप श्रेष्ठले भने, ‘मेरो भान्छामा बजारको विषादीयुक्त तरकारी प्रवेश निषेध छ, किनभने कौसीमा म आफैँ तरकारी फलाउँछु ।’ 

 

के फल्दैन कौसीमा?
व्यवसायी श्रेष्ठको कालोपुलमा घर छ । ढोकाको दुवैतिर एभोकाडोका बोट बढ्दै छन् । केही गमलामा फूल, बोझो, अदुवा, कागती, कर्कलो, फर्सी, तुलसी र दुई बोट किबी छ (भालेपोथी) । झुप्पै फलेको किबी लहराले तीन वर्षकै उमेरमा तेस्रो तलाको कौसीमा अँगालो हालिसकेको छ । उनको यो चोसो परेको करेसाबारीको मुनि पानीट्याङ्की र त्यसमाथि हरियो दूबो पनि छ । जहाँ दिलीप बिहानी ‘जकिङ’ पनि गर्छन् । तेस्रो तलाको देब्रे छत सानो छ । खासमा एउटा कोठामाथिको छत हो । कौसीमा भटमास, भिन्डी, करेला, काँक्रो, तनेबोडी फलाइएको छ । नीलो ड्रमका पाँच चक्लामा भिन्डी खेती छ ।

 

‘भान्छामा भिन्डी अलि रुचाइने भएकाले ३५ बोट लगाइएको छ’ कौसी किसान दिलीप भन्छन्, ‘एकपटक टिप्दा मज्जाले एकछाक खान पाइयोस् भनेर अलि बढी लगाएको नि!’ दाहिने बगैँचामा बुद्धचित्त मालादेखि जिम्बु, छ्यापी र लट्टेको सागसम्म छ । अनारको बोटमा लटरम्म दाना लागिसक्यो । कीराबाट बचाउन दूधको प्लास्टिक पोकाले दाना छोपिएको छ । दहीको उपभोगपछि फ्याँकिएको भिउँटमा स्ट्रेबरी फलिसक्यो । पानी जारको घाँटी फ्याँकेर बनाएको फकटामा झपक्क भेडेखुर्सानी फलेको छ । लोकल गोलभेँडा, घ्युसिमी, घिरौँला, पिरो खुर्सानी लटरम्मै छ । कौसीमा के खेती गर्ने भन्नेबारे दिलीपको आफ्नै नीति छ, ‘भान्छामा जे बढी रुचाइन्छ, त्यो लगाइन्छ ।’  

 

किन कौसी खेती? 
बजारमा विषादीयुक्त तरकारी छ, महँगी छ । ताजा र खोजेको तरकारी पाइन्न । खुर्सानी र धनियाँसमेत ताजा पाइन्न तर तिनलाई घरकै कौसी या गमलामा फलाउन सकिन्छ । कौसी खेतीको प्रवद्र्धनमा लागेका दीपक लोहनी भन्छन्, ‘भान्छामा भित्रिने सबै तरकारी त कौसीमा लगाउन नसकिएला, कम्तीमा धनियाँ र खुर्सानी त गमलामा फलाएरै खान पुग्छ ।’ कौसी खेतीको तालिममा भान्छाको गणितको हिसाब हुन्छ । दैनिक १० रुपियाँको धनियाँ खर्च बचाउँदा महिनाको तीन सय बचत हुन्छ । कृषिविज्ञ नम्रता पाण्डेले भनिन्, ‘रमाइलोका लागि कौसी खेती सुरु गरौं, यसले घरखर्चमा पनि सहयोग पुग्छ ।’ जापानमा बस्दा नेपालबाटै तरकारीको बीऊ लगेर कौसीमा तरकारी फलाएको बताउने पाण्डे तनाव व्यवस्थापनका लागि कौसी खेती उपयुक्त हुने बताउँछिन् यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

तरकारी कौसी अर्गानिक अभियान

विशेष