बालुवाटारको जग्गा प्रकरण : नायब सुब्बाले गरे आत्महत्या
काठमाडौँ । बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा ब्यक्तिको नाममा सार्ने प्रकरणमा मुछिएका मालपोत कार्यालयका एक जना पूर्वनायब सुब्बाले हामफालेर आत्महत्या गरेका छन् । पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठले आज दिउँसो बालाजुको माछापोखरीस्थित माछापोखरी सपिङ सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । जग्गा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका ५७ वर्षीय श्रेष्ठ मालपोत कार्यालयबाट २०६० सालमा अवकाश भएका थिए ।
किनमेलका लागि भन्दै उक्त सपिङ सेन्टरमा गएका उनले आठौं तलाबाट हामफालेर आत्महत्या गरेको प्रहरीको भनाइ छ । उनीमाथि मालपोत कार्यालय डिल्लीबजारको नायब सुब्बा रहँदा कागजपत्र मिलाएर ललिता निवास लगायतका सरकारी जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको आरोप लागेको छ ।