News

निगमसँग जहाज छन्, व्यवस्थापन झुर हुँदा यस्तो छ हालत 

निगमसँग जहाज छन्, व्यवस्थापन झुर हुँदा यस्तो छ हालत 

काठमाडौं । निगमसँग अहिले अन्तर्राष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुईवटा न्यारोबडी (३२०–२००) र दुईवटा वाइडबडी विमान (३३०–२००) छन् । अर्को एउटा बोइङ ७५७ बेचबिखनको प्रक्रियामा छ । आन्तरिक उडानतर्फ तीनवटा ट्विनअटर, ५६ सिटे दुईवटा एमए ६० र १७ सिटे चारवटा वाई १२ छन् । सानाठूला सबै गरेर निगमसँग अहिले १३ वटा जहाज छन् । 

अघिल्लो आर्थिक वर्ष भदौमा निगमले सार्वजनिक गरेको श्वेतपत्रमा निगमको मासिक सञ्चालन घाटा करिब ३२ करोड रुपियाँ पुगेको छ । परिस्थिति अहिले पनि योभन्दा फरक छैन । अर्थ समितिमा कार्यकारी अध्यक्षले प्रस्तुत गरेका अनुमानित तथ्याङ्कअनुसार निगम गत आर्थिक वर्षमा करिब चार अर्ब ७५ करोड रुपियाँ घाटामा गएको छ । 

आन्तरिक उडानका लागि ल्याइएका जहाजहरू लामो समय ‘ग्राउन्डेड’ भइरहनु, लामो दूरीको गन्तव्यका लागि ल्याइएको वाइडबडीले अहिलेसम्म योजनाअनुसारका गन्तव्यमा उडान गर्न नसक्नु निगमको आलोचनाका थप कारणहरू हुन् । 

यही परिस्थितिमा निगमले अहिले सरकारसँग आफ्नो चुक्तापुँजी करिब ३८ करोड रुपियाँबाट बढाएर २० अर्ब रुपियाँ पु¥याउन माग गरिरहेको छ । प्रधानमन्त्री र सांसद भुसालको टिप्पणी निगमको यही परिस्थितिमाथि थियो । 
त्यसो त निगमले अहिले विभिन्न आठवटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ । निगमकै दाबीअनुसार प्रतिउडान यात्रु सङ्ख्या औसत नै छ । चार लाख ९३ हजार यात्रुसहित सन् २०१८ मा नेपालमा अन्तराष्ट्रिय यात्रु उडान गर्ने कम्पनीमा पनि निगम सबैभन्दा अगाडि छ ।

गोरखापत्र दैनिकबाट । 
 

विशेष