News

एक्लिँदै आमाबाबु !

एक्लिँदै आमाबाबु !

काठमाडौं : हरेक वर्ष आमाबाबुको मुख हेर्ने दिन धेरैको सामाजिक सञ्जालमा आमाबाबुको फोटो टाँसिएका भए पनि अचेल आमाबाबु भने एक्लिँदै गएका छन् । खास गरी बुढ्यौली लागेपछि बाबुआमा एक्लोपन, बेवास्ता, हिंसा र दुव्र्यवहारको सिकार हुनु परेको विभिन्न अध्ययनले देखाएको छ ।

रामेछाप बेथानकी माइली तामाङ (७९)का नाति नातिनीसहित छ सन्तान छन् तर उनी भने गाउँमा एक्लै बस्छिन्। छोरा बुहारी, नाति नातिनी सबै काठमाडौँ बस्छन् । वर्षको दुई चार दिनका लागि घर आएर फर्कन्छन् उनीहरू ।

वर्षभरि एक्लै बस्ने उनका लागि कहिलेकाहीँ बिसन्चो हुँदा पानी खुवाउने साथी पनि कोही छैन । “छोरा बुहारी कामबाट फुर्सद पाउँदैनन्, नाति नातिनी पढाइबाट”, उनी भन्छिन् । रामेछापबाटै टेलिफोनमा उनले भनिन्, “एक्लै पकाउने खाने गर्दै काल कुर्दै छु । काम गर्न नसकेपछि कति कोदो मकै फल्ने बारीहरू बाँझै छन् ।” यसरी छोराछोरी गाउँ छाडी सहर र विदेश जाँदा गाउँमा अचेल ज्येष्ठ नागरिक मात्र बाँकी रहेको उनले दुःखेसो पोखिन् ।

राष्ट्रिय मानवअधिकार आयोगले गएको चैतमा देशभरिका ज्येष्ठ नागरिक आश्रमको अध्ययन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गर्‍यो । त्यस प्रतिवेदनमा एक दिवा सेवा केन्द्रमा भेटिएकी ज्येष्ठ नागरिकको गुनासोलाई यसरी लेखिएको छ, “घरको कुरा बाहिर भने इज्जत जान्छ । पति छउन्जेल दुःख थिएन, पीर थिएन, खान लाउन समस्या थिएन । गाउँमा परिवारको इज्जत पनि छ । छोरा बुहारी दुवै काममा जान्छन्, नाति नातिनी स्कुल । घरमा भए नि मसँग कोही बोल्दैनन्, सबै आआफ्नै धुनमा । मेरोजस्तै अवस्था छिमेकी दिदीको पनि छ । हामी घरमा खाना खाएर दिवा सेवा केन्द्र आउँछौँ । दिदी बहिनी कोठाको कुनामा बसेर दिनभरि रुन्छौँ, मनको बह पोख्छौँ । आँसु बगेपछि मन हलुका हुन्छ, घर फर्कन्छौँ । ”

एक्लिनुका कारण

ज्येष्ठ नागरिकहरू एक्लिँदै जानुलाई सामाजिक रूपान्तरणको प्रभावको रूपमा व्याख्या गर्छिन्, समाजशास्त्री सुनिता राई । श्रमशक्तिको विश्वव्यापी प्रवाहका कारण युवकहरू सहर र विदेश जान्छन् । सहर र विदेश पसेकाका पत्नीहरू पनि बालबच्चालाई राम्रो शिक्षा दिने नाममा सहर झर्छन् । त्यसपछि गाउँमै एक्लिने गरेका छन् ज्येष्ठ नागरिक । सहरमा भने अधिकांश मध्यमवर्ग घरबाहिर जागिर र व्यवसाय गर्छन् । घरमा हुँदा पनि टीभी, मोबाइल, सामाजिक सञ्जालमा झुन्डिरहने कारण ज्येष्ठ नागरिक मात्र हैन सबै नै एक्लिने प्रवृत्ति बढिरहेको समाजशास्त्री राई बताउँछिन् । आफ्नो अनुसन्धानमा छोराछोरी शिक्षा र कामका लागि विदेशिने प्रवृत्तिका कारण पनि बाबुआमा एक्लिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोगको अध्ययनमा घरमा बेवास्ता, आत्मसम्मानमा चोट पुग्ने व्यवहार, दुव्र्यवहार भएपछि ज्येष्ठ नागरिकहरूले आश्रम रोज्ने गरेको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका क्रममा ज्येष्ठ नागरिकले आफ्नो भावना छोराछोरीले नबुझेको, वृद्धभत्ता खोसेको, सरसफाइ नगरिदिएको जस्ता कारणले वृद्धाश्रम आउनु परेको बताएको आयोगकी मानवअधिकार अधिकृत रञ्जिता शाहले बताउँछिन् । कतिपयका आफ्नै सन्तानले नै आश्रममा छोडेर जाने गरेका छन् । यो खबर आजको गोरखापत्रबाट लिइएको हो।

विशेष