News

स्मार्ट लाइसेन्स लिन आएनन् डेढ लाख सेवाग्राही

स्मार्ट लाइसेन्स लिन आएनन् डेढ लाख सेवाग्राही

काठमाडौं । धेरैलाई समयमै सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) उपलब्ध गराउन नसकेपछि आलोचना खेपिरहेको यातायात व्यवस्था विभागले कतिपय सेवाग्राहीको लाइसेन्स तयारी भइसके पनि लिन नआएको बताएको छ ।

विभागका अनुसार प्रिन्ट गर्न बाँकी लाइसेन्समध्ये करिब डेढ लाख लाइसेन्स प्रिन्ट गरी तयार गरेको छ तर सेवाग्राही आएका छैनन् । एक महिना अघिदेखि डेढ लाख लाइसेन्स तयार गरी वितरणका लागि राखिएको छ । विभागले २०७५ पुस १६ गतेसम्म जारी तथा नवीकरण गरिएका स्मार्ट लाइसेन्स तयार भएको जनाएको छ ।

लाइसेन्स साउन १५ गतेसम्म विभागको कार्यालय नयाँबानेश्वर र साउन १९ गतेदेखि यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट वितरण हुने विभागका महानिर्देशक कुमारप्रसाद दाहालले जानकारी दिए । महानिर्देशक दाहाल भने, 'अनलाइनमा खबर गर्दा सूचना गर्दा पनि लाइसेन्स लिन निक्कै कम आउनुभयो, कतै जानकारी नै नपाएर हो कि भनेर हामीले सार्वजनिक सूचना पनि जारी गरेका छौँ ।”

प्रदेश ३ अर्थात् साबिकको बाग्मती अञ्चलमा मात्र डेढ लाख लाइसेन्स तयार छ तर बुझ्न आएका छैनन् । हाल देशभर ३४ वटा केन्द्रबाट देशभर लाइसेन्स वितरण गरिएको दाहालको भनाइ छ ।

दाहालका अनुसार चार लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । भदौ ११ गतेबाट मास प्रिन्टर सुरु गरिने भएको छ । मास प्रिन्टर सुरु गरेपछि दैनिक पाँच/छ हजार लाइसेन्स प्रिन्ट हुन्छ, त्यसपछि हालको जस्तो ढिला नहुने दाहालको भनाइ छ ।

२०७२ सालमा स्मार्ट लाइसेन्स कार्ड लागू गरेपछि प्रिन्टको काम बाँकी रहन थालेको हो । विभागका अनुसार हाल करिब दैनिक १० हजारप्रति लाइसेन्सको माग छ तर विभागले दैनिक दुई हजारप्रति मात्र प्रिन्ट गर्न सक्छ ।

लाइसेन्स वितरण तथा नवीकरणको काम प्रदेश सरकारको भए पनि प्रदेशहरूले काम सुरु गरेका छैनन् । रसिद लिएकालाई लाइसेन्सको तत्काल आवश्यक परे एकै दिनमा प्रिन्ट गरिदिने व्यवस्था छ । यो खबर आजको गोरखापत्रबाट लिइएको हो ।

स्मार्ट लाइसेन्स

विशेष