विदेश

११८ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने महिलालाई २० वर्ष जेल सजाय

११८ बालबालिकाको अभिभावकत्व ग्रहण गर्ने महिलालाई २० वर्ष जेल सजाय

चीनमा 'लव मदर'का नामबाट चर्चित एक महिलालाई २० वर्षको जेल सजाय सुनाइएको छ। ५४ वर्षीया ली यानशियालाई हेबेई प्रान्तको वुआन कोर्टले २० वर्षको सजाय सुनाएको हो। उनमाथि २.६७ मिलियन युआन जरिवाना समेत गरिएको छ।

बुधबार भएको सुनुवाईका क्रममा आफूमाथि लागेका झलकपड, जालझेल र समाजमा असर पार्नेसहित आर्थिक गडबढी मुद्दामा आफू सामेल रहेको लीले स्वीकार गरेकी थिइन्।

उनले कोर्टमा धनी बन्ने लालचमा आएर आफूले धेरै प्रकारका अनैतिक कामहरू गरेको पनि स्वीकार गरेकी छन्। यसका लागि एउटा समूहमा मिलेर काम गर्ने गरेको उनको भनाइ छ। जसमा उनका ब्वाय फ्रेन्ड शु की पनि सहभागी थिए। उनका ब्वाय फ्रेन्डलाई साढे १२ वर्षको जेल सजाय सुनाइएको छ।

कोर्टले लीसहित १६ जनालाई दोषी ठहर गरेको छ। अन्य १४ जनालाई ४/४ वर्षको जेल सजाय सुनाइएको छ। उनले अनाथालयका नामा सामाजिक कार्यकर्ताको प्रभावको दुरुपयोग गरेको कोर्टको ठहर छ।

ली एक अनाथालय चलाउँदै आएकी थिइन्। उक्त संस्थाले सन् २०१७ सम्ममा ११८ बालबालिकालाई छहारी दिएको थियो। उनलाई सन् २००६ मा मिडियाले चर्चामा ल्याएका थिए। त्यसबेला उनले १२ बालबालिकाको अभिभावकत्व गरेकी थिइन्। यहीँबाट उनलाई 'लव मदर' भनेर बोलाउन थालिएको थियो।

सामाजिक कार्यकर्ता बनेर उनले रकम असुली जस्ता काम सुरु गरेकी थिइन्। उनले बच्चाहरूलाई निर्माण साइटमा पुर्‍याउने र पछि कम्पनीहरूलाई ब्ल्याकमेल गरेर पैसा असुली गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यसैमा पनि उनको संस्थालाई कैयौँ संगठनले चन्दा दिएका थिए।

सन् २०११ सम्ममा सरकारलाई लीविरुद्ध धेरै उजुरी आएका थिए। सन् २०१८ मा आउँदा उनको खातामा २० करोडभन्दा बढी रकम जम्मा भएको थियो। यसबाहेक उनीसँग लग्जरीहरू ल्यान्ड रोवर मर्सिडिज जस्ता महँगा गाडीहरू थिए। यसपछि उनलाई प्रहरीले पक्राउ गरेर छानबिन सुरु गरेको थियो। एजेन्सी

विशेष