सिड्नीमा कार दुर्घटना, दुई नेपालीको घटनास्थलमैँ मृत्यु
एजेन्सी । अष्ट्रेलियाको सिड्नीबाट स्नोई माउन्टेनतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा कारमा सवार दुई नेपालीको घटनास्थलमैँ मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा एक पुरुष र एक महिला रहेका छन् भने २२ वर्षीय चालक तथा १९ वर्षीय दुई यात्रुहरूको टाउकोमा चोट लागेको छ ।
दुर्घटनामा परेकामध्ये भट्टराई, देवकोटा, सुवेदी, कँडेल र भण्डारी थरका रहेको बताइएको छ भने पूरा विवरण प्रहरीले अझै सार्वजनिक गरेको छैन ।
घाइते चालक र दुई यात्रुलाई न्यूसाउथवेल्स एम्बुलेन्सका रामेडिक्सले घटनास्थलमा प्राथमिक उपचारपश्चात् नजिकैको कुमा अस्पतालमा पुर्याएका थिए ।
त्यहाँबाट चालक र एक यात्रुलाई थप उपचारका लागि हेलिकप्टरबाट क्यानबेरा अस्पताल लगिएको प्रहरीले जनाएको छ । घाइतेहरू खतरामुक्त रहेको र उनीहरूलाई सामानय वार्डमा सारिएको जनाइएको छ ।
तीव्र गतिमा रहेको उक्त कारले सडक छोडेर पल्टिएपछि उक्त घटना भएको जनाइएको छ ।