News

९ हजार सवारीसाधन कारवाहीमा

९ हजार सवारीसाधन कारवाहीमा

बागलुङ, । गत आर्थिक वर्षमा ट्राफिक नियम मिच्ने ९ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार राजश्व उठेको छ ।अघिल्लोको तुलनामा आव ०७५÷०७६ मा कारवाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढी छ । आव ०७४÷०७५ मा जम्मा सात हजार ८२४ सवारीसाधन कारवाहीमा परेका थिए । नियमविपरीत चलेका ६४१ ट्रक, ६१८ बस, जीप चार हजार ४८०, ट्र्याक्टर एक हजार १२, मोटरसाइकल दुई हजार ६५४ र अन्य ४० गरी नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका हुन् ।

 

कागजात नभएका, बढी भार बोक्ने, तीव्र गतिमा हाँक्ने, मापसे सेवनजस्ता ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही गर्ने गरिएको कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक महेन्द्र रानाभाटले बताए । उनका अनुसार पछिल्लो समय दुर्घटना हुने क्रम पनि बढ्दो छ । विशेष गरी दुई पाङ्ग्रे सवारी बढी दुर्घटनामा पर्ने गरेका छन् । गएको आवमा २५ सवारी दुर्घटनामा परेको प्रहरीको आँकडाले देखाएको छ । दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएको र २९ जना घाइते भएका छन् । 

ट्राफिक नियम दुर्घटना बागलुङ सवारीसाधन कारवाही

विशेष