News

विश्व बाघ दिवसः जम्काभेटमा मात्र गर्छ बाघले आक्रमण

विश्व बाघ दिवसः जम्काभेटमा मात्र गर्छ बाघले आक्रमण

काठमाडौं । गतवर्ष भदौताका चितवनस्थित मेघौलीको शुक्रनगरमा बाघले एक महिलालाई आक्रमण गरी मार्यो । बाघ पक्रिएर चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा राख्यो । त्यो बाघ केही महिनापछि मर्यो । माडीमा मान्छेमाथि आक्रमण गर्ने बाघलाई उद्धार गरेर सदरचिडियाखाना ल्याइयो । सन् २००७ ताका मानिसलाई पटकपटक आक्रमण गर्ने नङ्ग्रे पोथीबाघले पश्चिम चितवनमा आतङ्क नै मच्चाएको थियो । भाले बाघले कुमरोज सामुदायिक वनमै मान्छेमाथि आक्रमण गर्यो । तीनवटा डमरुकी माउ बाघले सन् २००४ ताका मानिसलाई आक्रमण गरेर हैरान पार्यो । उसको एउटा डमरुलाई आक्रोशित गाउँलेले कुटेर मारे, एउटा जङ्गलमै कतै हरायो । बाँकी एउटा डमरुको नाम नारायणी राखेर सदरचिडियाखाना ल्याइएको थियो तर त्यो पनि चिडियाखानामै मरेको बाघविज्ञ डा. बाबुराम लामिछानेले बताए ।

 

गाउँमा बारम्बार बाघ आउन थालेपछि त्रसित मानिसले विष खुवाएर त्यसलाई मारे । यसरी बारम्बार गाउँ पस्न थालेको बाघका विषयमा लामिछानेसहित निकुञ्जका वरिष्ठ पशुचिकित्सक कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. चिरञ्जीवी पोखरेल र विज्ञ डा. नरेश सुवेदीले अध्ययन थाथे । सन् २००७ देखि सन् २०१६ सम्म भएको अध्ययनअनुसार त्यस अवधिमा २२ वटा समस्याग्रस्त बाघ रहेको फेला पर्यो । कुल बाघमध्ये करिब पाँच प्रतिशतमा बस्ती पस्ने, घरेलु पशुचौपाया र मानिसलाई आक्रमण गर्ने समस्या देखा परेको लामिछानेले बताए ।   

दोब्बर बनाउने लक्ष्य 
नेपाल पाटेबाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्यको नजिक पुगसकेको खुसियाली एकातिर छ भने अर्कोतिर बढ्दो सङ्ख्यासँगै अनेक चुनौती निम्तिएको संरक्षणकर्मीहरू स्वीकार्छन् । राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने, ‘नेपालले पुर्याउनुपर्ने सङ्ख्या २४५ हो तर हामी त्योभन्दा बढी २५० बनाउने लक्ष्यमा छौँ, बाघको गणनाका बेला गणना नभएका बाघका बच्चा ठूलो हुँदा त्यो संख्यामा बढ्न सक्छ ।’ पछिल्लो आँकडाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ वटा छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटामा १६ वटा बाघ छन् ।  

बाघको असर
बाघ, चितुवा र मानिसमा तिनको असर विषयमा विद्यावारिधि गर्नुभएका विज्ञ डा. लामिछानेले बाघको बढोत्तरीले ऊसरहका अन्य वन्यजन्तुमा असर गर्ने दाबी गरे । उनको अध्ययनअनुसार बाघसरह जङ्गलमा आफ्नो क्षेत्र बनाएर बस्ने चितुवा, ब्वाँसो आदि छन् । सबैको आहारा जरायो, मृग, रतुवा, बँदेल लगायतका प्रजाति रहन्छन् । बाघले भने ठूलो गौरीगाईसमेत मारेको पाइएको थियो । बाघको बढोत्तरीका कारण अन्य ठूला प्राणी विस्थापित हुनसक्ने अध्ययनले देखाएको छ ।  यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

बाघ चितवन राष्ट्रिय निकुञ्ज आक्रमण बाघ दिवस

विशेष