सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको बिमा
तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बिमा गरिएको छ। वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक वनका ८२ घरधुरीको स्वास्थ्य बिमा गरिएको हो। गत वर्ष २० लाख रुपैयाँ आम्दानी भएको सामुदायिक वनबाट स्वास्थ्य बिमाका लागि प्रति परिवार दुई हजार ५०० रुपैयाँका दरले दुई लाख पाँच हजार रुपैयाँ लगानी गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मानकुमार श्रेष्ठले जानकारी दिए।
सामुदायिक वनको आम्दानी उपभोक्ताकै हितमा लगानी गर्नुपर्ने प्रावधानअनुसार वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बिमा गरिएको उनले बताए। २०१ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा दुई वर्ष अघिदेखि वैज्ञानिक वन व्यवस्थापन लागू गरिएको छ ।
२०६६ सालमा समुदायमा हस्तान्तरण भएको वनले पहिलो वर्षमा नै राम्रो आम्दानी लिन सफल भएको थियो। उपभोक्ता समूहका सचिव टेकबहादुर गुरुङका अनुसार वनको आम्दानीबाट वैदेशिक रोजगारीमा जानेलाई सहुलियतमा कर्जा, पशुपालन गर्ने र उच्च शिक्षा अध्ययनको लागिसमेत सहुलियतमा कर्जा उपलब्ध गराइएको छ। रासस
तनहुँ म्याग्दे गाउँपालिका फूलबारी सामुदायिक वन वन पैदावर