युनुस अन्सारीसहित ६ जना जेल चलान
काठमाडौँ । जिल्ला अदालत काठमाडौंले नक्कली भारतीय रुपैयाँ (भारु) को नोटसहित पक्राउ परेका युनुस अन्सारीसहित ६ जनालाई जेल चलानको आदेश गरेको छ । अन्सारीसहित उनका साला सोहल खान, चालक सुजन रानाभाट तथा पाकिस्तानी नागरिकहरु नदिन अनवार, नसिन उद्दिन र नदिया अनवार जेल चलान भएका हुन् । संगठित अपराध र खोटाचलन मुद्दामा उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो ।
उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
गत जेठ १० गते युनुसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको थियो। नक्कली भारतीय नोटसहित कतारको दोहाबाट काठमाडौं उत्रिएका ३ जना पाकिस्तानी नागरिकलाई ‘रिसिभ’ गर्न पुगेको बेला युनुस पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुको साथबाट सात करोड ६७ लाख नक्कली भारु बरामद गरेको थियो । अन्सारी यसअघि पनि जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका थिए ।