प्रदेश २ लाई बाढीपीडित विशेष क्षेत्र घोषणा गर्न माग
काठमाडौँ । प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतले तराईका जिल्लामा हालै आएको बाढीका कारण अर्बौँको क्षति भएको भन्दै यसलाई पूर्ववत् पुर्याउनका लागि केन्द्रीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभएको छ । छ । रिपोर्टर्स क्लबले मंगलबार संघीय राजधानीमा गरेको साक्षात्कारमा मुख्यमन्त्री राउतले बाढीले तराई क्षेत्रमा अर्बौं रुपैयाँ बराबरको पूर्वधारका साथै बालीनालीको पनि क्षति भएकाले त्यसलाई पहिलेकै स्थितिमा पुर्याउन प्रदेश तथा स्थानीय सरकारको क्षमता नपुग्ने भन्दै केन्द्रीय सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।
प्रदेश नम्बर–२ लाई बाढीपीडित विशेष क्षेत्र घोषणा गरी राहत प्याकेज घोषणा गर्न केन्द्र सरकारसँग उहाँले माग गर्नुभयो। मुख्यमन्त्री राउतले गत असार २७ गतेको बाढीले त्यहाँका ८ जिल्लामा ठूलो क्षति पुर्याएकाले भोलिपल्टै प्रादेशिक मन्त्रिमन्डलको बैठक बसी पीडित जनतालाई राहत दिने निर्णय गरिएको जानकारी साक्षात्कारमा गराउनुभयो ।
मुख्यमन्त्री राउतले बाढीले धेरै क्षति पुर्याएको रौटहत, सप्तरी, सर्लाही, सिराहा तथा महोत्तरीको भ्रमण गरी तत्कालै प्रदेश सरकारको क्षमताले भ्याएसम्म पीडितलाई राहत सहयोग गरिएको जानकारी दिनुभयो ।
लालबकैया, वाग्मती तथा रातुनदीको तटबन्ध मर्मत नहुनु र चुरे दोहनले त्यहाँका जनताले वर्षेनि बाढीको मार व्यहोर्नुपरिरहेको उहाँको भनाइ छ । ्