News

प्रधानमन्त्री ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै  

प्रधानमन्त्री ओली सिंगापुर र प्रचण्ड दुबई जाँदै  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शनिबार सिंगापुर जाने भएका छन् । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका ओली थप फलोअपका लागि विदेश जान लागेका हुन् । उनी केही दिन विदेश जान लागेको सोमबार नेकपा सचिवालय बैठकमा पनि जानकारी गराइएको थियो । 
 

मृगौला प्रत्यारोपण गरेका ओलीले नियमित स्वास्थ्य परीक्षण गर्दै आएका छन् । विदेशमा परीक्षण गर्न जानेबारे प्रधानमन्त्रीले केही दिनअघि निजी चिकित्सक दिव्यासिंह शाहसहित डाक्टरहरूसँग परामर्श गरेका थिए । स्रोतका अनुसार गत शुक्रबार सैनिक अस्पताल छाउनीमा प्रधानमन्त्री ओलीको नियमित ल्याब परीक्षणसहित यूएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो । चिकित्सकका अनुसार रेनल (मृगौलाको) बायोप्सीमा एउटा सुईको माध्यमले मृगौलाको तन्तुको सानो नमुना निकालिन्छ ।

 

कहिलेकाहीँ यो परीक्षण प्रत्यारोपण गरिएको मृगौलाले कसरी काम गरिरहेको छ भनेर मूल्यांकन गर्न गरिन्छ । यसको परीक्षण मृगौलाको कार्यप्रणालीमा कमी, पिसाबमा निरन्तर रगत वा प्रोटिन देखिए पनि गरिन्छ । मृगौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको हो ।

 

६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो । निकै लामो समय उपचार गरेर निको भएको थियो । उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गरेका थिए । त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका छन् । गत वर्ष प्रधानमन्त्रीको शपथ लिनु केही दिनअघि बैंककस्थित ब्रुमरुग्रान्ड इन्टरनेसनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । प्रधानमन्त्री भएपछि स्वास्थ्य परीक्षण गर्न विदेश गएका थिएनन् । 

 

प्रचण्ड  दुबई जाँदै
नेकपाका अध्यक्ष प्रचण्ड पनि दुबई भ्रमणमा जाने भएका छन् । उनी मंगलबार नै त्यतातर्फ जान लागेका हुन् । उनको भ्रमण पारिवारिक भएको स्रोतले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो ।
 

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर दुबई

विशेष