विदेश

अमेरिकामा फूड फेस्टिवलमा गोलीबारी, दुई बालबालिकासहित तीनको मृत्यु

अमेरिकामा फूड फेस्टिवलमा गोलीबारी, दुई बालबालिकासहित तीनको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा भएको एक फूड फेस्टिबलमा एक व्यक्तिले अन्धाधुन्द गोलीबारी गर्दा दुई बालिबालिकासहित तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मारिनेमा एक ६ वर्षीय बालक र एक १३ वर्षीया बालिका र २० वर्षीय युवक रहेका छन्। उक्त घटनामा अन्य १५ जना घाइते भएका छन्। उनको अहिले स्थानीय अस्पतालहरूमा उपचार जारी रहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार आइतबार मध्यराति उक्त गोलीबारीको घटना भएको हो। हमला गर्ने व्यक्ति प्रहरी कार्वाहीमा मारिएका छन्। प्रहरीले उक्त घटना अरू कुनै व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा अनसन्धान गरिरहेको जनाएको छ।

हमलाकर्ता १९ वर्षीय सेन्टिनो विलियम लेगानका रूपमा प्रहरीले  परिचय खुलाएको छ। उक्त व्यक्तिले 'गिलराय गार्लिक फेस्टिवल' चलिरहेको अवस्थामा आइतबार मध्यराति अन्धाधुन्द गोलीबारी गराउँदा ३ व्यक्ति मृत्युका साथै १५ घाइते भएका थिए। प्रहरीका अनुसार संदिग्धका साथमा असल्ट राइफल थियो जुन यहि महिना नेवाडाबाट किनिएको थियो।

प्रहरीले उक्त घटनामा मारिका व्यक्तिहरूको पहिचान खुलाएको छैन। यद्यपि स्थानीय मिडियाहरूले मृतक ६ वर्षीय बालकको नाम स्टिफन रोमेरो बताएका छन्। स्टिफनका आमा र हजुरआमा उक्त घटनामा घाइते भएका छन्। प्रहरीका अनुसार अर्का २० वर्षीय युवक पनि उक्त घटनामा मारिएका छन्।

यस्तै, घटनाहरूको तथ्यांक संग्रह गर्ने एक वेबसाइट 'गान भ्वालेन्स आर्काइव'का अनुसार सन् २०१९ मा अमेरकामा मास सुटिङ (सामूहिक गोलीबारी)की २४६ घटना भएका छन्। २०१९ मा भएका गोलीबारीका घटनामा ८ हजार ४३४ व्यक्ति मारिका छन्।

पछिल्लो समय अमेरिका गोलीबारीका घटनामा बढ्दै गएका छन्। विद्यालयदेखि खाली मैदानसम्ममा गोलीबारीका समाचारहरू आएका छन्। यहाँ मानिसहरूका साथमा बन्दुक राख्न सामान्य मानिन्छ। किनकि यहाँको संविधानले बन्दुक राख्नका लागि छुट दिएको छ र यसलाई मौलिक अधिकारका रूपमा लिइन्छ। गोलीबारीका घटना बढ्नु यो पनि एउटा कारण बताइने गरिएको छ।

अमेरिका गोलीबारी

विशेष