विदेश

ब्राजिलको जेलमा ग्याङफाइट, ५२ कैदीको मृत्यु

ब्राजिलको जेलमा ग्याङफाइट, ५२ कैदीको मृत्यु

ब्राजिलको पारा राज्यको एक जेलमा दुई समूहबीच भएको भिडन्तमा ५२ कैदीको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार अल्टामिरा जेलमा दुई समूहबीच पाँच घण्टासम्म ग्याङवार भएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार एउटा भागका कैदीको समूह अर्को भागमा जेलमा जाँदा पुगेपछि दुवै समूहबीच द्वन्द्व सुरु भएको थियो। जेल अधिकारीहरूका अनुसार १६ जनाको घाँटी रेटिएको छ भने अन्यको जेलको एउटा भागमा आगो लगाइएपछि धूवाँले निसासिएर मृत्यु भएको हो।

कैदीहरूले जेलका दुई अधिकारहरूलाई बन्दी बनाएका थिए। पछि उनीहरूले ती दुई अधिकारीहरूलाई रिहा गरिदिएका छन्। बिबिसले जनाएअनुसार दुवै ग्याङबीचको लडाइँ बिहान सातबजेबाट सुरु भएको थियो। दिउँसो दुई बजेपछि मात्रै सुरक्षाकर्मीले ग्याङफाइटलाई नियन्त्रणमा लिएका थिए।

त्यहाँका अधिकारीहरूले कुन जेलमा ग्याङफाइट भएको खुलाएका छैनन्। यद्यपि स्थानीय समाचार माध्यम जी१ का अनुसार अल्टामिराको जेलमा उक्त हिंसा भएको हो। यहाँ २०० कैदीहरू राख्ने क्षमता थियो तर यहाँ ३११ कैदीहरू राखिएको थियो।

ब्राजिलको जेलमा हिंसाका घटना सामान्य हुन्। देशभरका जेलमा करिब सात लाख कैदी बन्द छन्, धेरै जसो जेलमा क्षमताभन्दा धेरै कैदी राखिएको छ। यहाँ प्रायः दुई समूहबीच हुने हिंसाका समाचार आइरहन्छन्। मे महिनामा देशका चार अलगअलग जेलमा भएका घटनामा ४० भन्दा धेरै मानिसको मृत्यु भएको थियो।

ब्राजिल

विशेष