News

दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

दुवै खुट्टामाथि पारेर एक मिनेटमा ६० पटक ‘पुसअप’

लमही । दाङका ऋषि परियार विश्व कीर्तिमान तोड्ने दौडमा हुछन् । उनी दुवै खुट्टामाथि पारेर गरिने ‘पुसअप’मा विश्व कीर्तिमान कायम गर्ने दौडमा छन् । गिनिजबुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म खुट्टामाथि पारेर एक मिनेटमा ५१ पटक मात्रै पुसअप गरेको रेकर्ड छ । बेलारूसका सिर्हेई कुडायौले सन् २०१८ मे ३ मा ५१ पटक पुसअप गरेर विश्व रेकर्ड कायम गरेका थिए । त्यो रेकर्डलाई कसैले पनि तोड्न सकेका छैनन् । तर, दाङ तुलसीपुर उपमहानगरपाकिा–३ निवासी ऋषि परियार यो रेकर्ड तोड्ने क्रममा छन् । विश्व रेकर्डका लागि उनले सोमबार तुलसीपुरमा भिडियो रेकर्ड गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा उनले एक मिनेटमा ६० पटक पुसअप गरेको भिडियोसमेत तयार पारेका छन् । 

 

उक्त भिडियो तथा साक्षीहरुको भिडियोलाई गिनिजबुक अफ वल्र्ड रेकर्डको कार्यालयमा इमेल गर्ने ऋषिले बताए । उनका अनुसार रेकर्ड भएको उक्त भिडियोसहित करीब रु एक लाख पठाउनुपर्ने र त्यसको नतिजा १०÷१५ दिनमा आइपुग्छ । ‘मैले आज गरेको पुसअप गरेको भिडियो र साक्षीहरुको रेकर्ड गिनिजबुकको कार्यालयमा पठाउनुपर्छ’, उनले भने, ‘त्योसँगै करीब रु एक लाख पठाएपछि १०÷१५ दिनमा नतिजा आउँछ, यदि पैसा नपठाएको खण्डमा भने नतिजा आउन पाँच÷सात महीना लाग्छ ।’

 

तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकूद शाखाको सहयोगमा उनी यस पटक गिनिजबुकमा नाम लेखाउने दौडमा छन् । परियारले गिनिजबुकमा नाम लेखाएर उक्त खेल क्षेत्रमा नेपालको नाम विश्वमै चिनाउने योजना बनाएको बताए । यसमा उपमहानगरपालिकाले पनि सहयोग गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए ।  

कीर्तिमान

विशेष