कार्यतालिका बनाएर प्रधानमन्त्रीलाई बुझाउँदै मन्त्रीहरु
उपप्रधानमन्त्रीसँग फाइल साटासाट
काठमाडौँ । सरकारका कामकारबाहीलाई लिएर चौतर्फी जनगुनासो र आलोचना बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यतालिकासहित कार्ययोजनाको फाइल माग्नुभएको छ । वार्षिक, मासिक कार्ययोजना बनाएर समयतालिका अनुरुप काम गर्न प्रधानमन्त्रीले मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभयो ।
आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग कार्यसम्पादनबारे सम्झौता नै गर्नुभएको छ । उपप्रधान तथा रक्षमन्त्री ईश्वर पोखरेलसँग आज कार्यसम्पादन कार्यतालिकाको फाइल लिनुभयो ।
त्यस्तै गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि चालू आर्थिक वर्षको विस्तृत कार्ययोजना प्रधानमन्त्री ओली समक्ष पेश गरेका छन् । दुवै मन्त्रालयले पेश गरेको कार्ययोजनामा मन्त्रालयले तय गरेको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका मितिसहितको कार्ययोजना समावेश गरिएको छ ।
स्थीर सरकारको कारण ढुक्क भएर काम गर्ने वातावरण बनेको भन्दै प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय अवधारणा पूरा गर्ने गरी सरकारले विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।
सचिवहरुले पनि गरे मन्त्रीहरुसँग सम्झौता
प्रधानमन्त्रीसँग मन्त्रीहरुले कार्यसम्पादन कार्यतालिका सम्झौता गरेजस्तै सचिवहरुले पनि मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका छन् । चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौता गरेका हुन् ।