विदेश

चीनले भन्यो : राष्ट्रपति सीको नेपाल भ्रमण हुन्छ

चीनले भन्यो : राष्ट्रपति सीको नेपाल भ्रमण हुन्छ

काठमाडौं : चीनका परराष्ट्रमन्त्री एवं स्टेट काउन्सिलर वाङ यीले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण चीनको कूटनीतिक एजेन्डामा रहेको स्पष्ट पारेका छन् ।

बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग बुधबार भएको भेटवार्तामा वाङले भ्रमणको समयबारे थप छलफल गर्नुपर्ने बताए । चीनको दलियानमा १३औँ वल्र्ड इकोनोमिक फोरमको वार्षिक बैठक सकेर बेइजिङ पुगेका परराष्ट्रमन्त्री ज्ञवाली र वाङबीच आधा घन्टा छलफल भएको थियो ।

परराष्ट्रमन्त्री ज्ञवालीले राष्ट्रपति सीलाई स्वागत गर्न नेपाल आतुर रहेको भन्दै उच्चस्तरीय भ्रमण आदान–प्रदानले सम्बन्ध थप सुदृढ हुने बताएपछि जवाफमा वाङले सीको भ्रमण हुने बताएका हुन् । ‘उच्चस्तरीय भ्रमण ९राष्ट्रपति सीको नेपाल भ्रमण गराउने नेपालको चाहना०मा हामी सकारात्मक छौँ । नेपालको चाहनाबारे हामी पूर्ण जानकार र सकारात्मक छौँ,’ चिनियाँ परराष्ट्रमन्त्री वाङको भनाइ उद्धृत गर्दै बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशील लम्सालले भने । 

भेटवार्तामा परराष्ट्रमन्त्री ज्ञवाली, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारी र उपनियोग प्रमुख लम्साल सहभागी थिए । लम्सालका अनुसार वाङले सम्भावित भ्रमणको मिति र अनुकूलताबारे दुवै पक्षबीच परामर्श जारी राख्नुपर्ने धारणा राखेका थिए । उनले उपयुक्त समयमा राष्ट्रपतिको भ्रमण हुने जवाफ पठाएका थिए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

सी जिनपिङ

विशेष