News

उपत्यकाका विद्यालयमा चिनियाँ भाषा पढाइँदै 

उपत्यकाका विद्यालयमा चिनियाँ भाषा पढाइँदै 

काठमाडौं । काठमाडौं उपत्यका तथा आसपास क्षेत्रका ६० भन्दा बढी निजी विद्यालयमा चिनियाँ भाषा पढाइने गरिएको छ । ती विद्यालयले विद्यार्थीलाई अतिरिक्त भाषाका रूपमा उक्त विषय पढाउने गरेका छन् । काठमाडौंको कलंकीमा लर्निङ रियाल्म इन्टरनेशनल (एलआरआई), यूरो स्कुल, अक्षरा स्कुल, वाग्मती स्कुल, जोसेफ स्कुल, वृहस्पति विद्या सदन, त्रियोग हाइस्कुल, ललितपुरस्थित जेम्स स्कुललगायत ६३ विद्यालयमा चिनियाँ भाषा पढाउने गरेको पाइएको छ ।

 

आर्थिकरूपमा सक्षम मानिएका ज्ञानोदय मावि, जनप्रभात माविलगायत केही सामुदायिक विद्यालयले पनि उक्त भाषा सिकाउन गृहकार्य गरिरहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासबीच चिनियाँ भाषाका अतिरिक्त प्राविधिक ज्ञान तथा व्यवसायिक सीप पढाउन सम्झौता गर्न लागिएको मन्त्रालयको योजना महाशाखाका उपसचिव ध्रुव रेग्मीले जानकारी दिए । 

 

केही निजी विद्यालयले करीब दुई दशकदेखि चिनियाँ भाषा पढाउँदै आएको भए पनि शिक्षा मनत्रालयसँग त्यसको अभिलेख छैन । संयुक्त राष्ट्रसङ्घमा बोलिने विभिन्न भाषामध्ये चिनियाँ भाषा पनि एक हो । भाषा अध्यापनलाई व्यवस्थित तरिकाले अभिलेख गर्न मन्त्रालयअन्तर्गत स्वयंसेवक परिचालन तथा भिसा शाखाको समेत व्यवस्था गरिएको छ । विद्यालयले आवश्यक पूर्वाधार तयार गरेपछि भाषा अध्यापनका लागि स्वयंसेवकको माग गरी उक्त शाखामा पत्राचार गर्ने व्यवस्था छ ।

 

मन्त्रालयका अनुसार आव २०७४÷७५ का लागि ८८ चिनियाँ शिक्षकलाई भिसाका लागि सिफारिस गरिएको छ । भिसा शाखा प्रमुख केवलीराम अधिकारीले तलब लिएर पढाउने विदेशी शिक्षकलाई प्रक्रिया पुगेको अवस्थामा श्रम स्वीकृतिका लागि श्रम तथा रोजगार मन्त्रालयमा पत्राचार गर्ने बताउँदै तलब नलिने (वेतलबी) शिक्षकलाई स्वयंसेवीका रूपमा गृह मन्त्रालयमा कार्य सहमतिको पत्राचार गरी भिसा व्यवस्थापनमा सहजताको प्रबन्ध गरिने बताए ।  

चिनियाँ भाषा  उपत्यका विद्यालय

विशेष