News

गौतम बुद्ध विमानस्थलमा सौर्य ऊर्जा प्रयोगको तयारी

गौतम बुद्ध विमानस्थलमा सौर्य ऊर्जा प्रयोगको तयारी

भैरहवा । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य ऊर्जामार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ । यसका लागि विमानस्थललाई अनुदान र ऋण उपलब्ध गराएको एसियाली विकास बैङ्क (एडीबी) ले छलफल अगाडि बढाएको छ । “हालसम्मको छलफलका आधारमा अब करिब करिब डेढ महिनाभित्रै यो विषय टुङ्गोमा पुग्ने छ”, एसियाली विकास बैङ्कका नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले भने । 

 

सोलार प्यानल जडान गरी विमानस्थल परिसरभित्रै कम्तीमा १० मेगावाट विद्युत् उत्पादन गर्न सकिने अवधारणाका साथ एडीबीले यस्तो तयारी गरेको हो । एडीबीका आयोजना अधिकृत प्रधानका अनुसार सौर्य ऊर्जामार्फत प्रतिमेगावाट विद्युत् उत्पादन गर्न करिब १० करोड खर्च लाग्छ । विमानस्थललाई १० मेगावाट विद्युत् भने आवश्यक पर्दैन तर विमानस्थलमा उत्पादन भएको विद्युत् नजिकका उद्योगमा समेत आपूर्ति गर्न सकिने उनले जानकारी दिए । 

 

“यसका लागि स्थानीय सरोकारवालासँग पहिलो चरणको छलफल गरिसकिएको छ, केन्द्रीयस्तरमा पनि छलफल जारी छ”, प्रधानले भने । सौर्य ऊर्जा जडानका लागि नागरिक उड्डयन प्राधिकरणसँग छलफल भइरहेको प्रधानले जानकारी दिए । भैरहवा विमानस्थल मुलुककै नमुना रहेको र यहाँ सौर्य ऊर्जा जडान उपयुक्त ठानेर नयाँ अवधारणा ल्याइएको उनले बताए । सौर्य ऊर्जामार्फत अनुदान गरिए झैँ १० मेगावाट नै विद्युत् उत्पादन भए त्यसको बिक्री वितरणबाट विमानस्थलको आम्दानीसमेत बढ्ने छ । यो अवधारणा अगाडि बढाउन सकिए विमानस्थल निर्माण सम्पन्न भए लगत्तै यसको काम सुरु गरिने र छ महिनाभित्रै सकिने प्रधानले जानकारी दिए । गाेरखापत्र दैनिकबाट
 

 

भैरहवा गौतम बुद्ध विमानस्थल

विशेष