News

खानेपानीको धारामा २२ घन्टा ताला !

खानेपानीको धारामा २२ घन्टा ताला !

काठमाडौं । यो नियम रामेछापको मन्थली नगरपालिका–६ सिम्पानी गाउँको हो । २९ घरधुरी रहेको गाउँमा खानेपानीको चरम अभाव भएपछि गाउँलेले नै यस्तो नियम बनाएका हुन् । गाउँको तीनधारा पँधेरामा ट्यांकी निर्माण गरिएको छ । रातभर र दिनभर धारामा ताल्चा मारेर पानी जम्मा गरिन्छ । बिहान ४ देखि ६ बजेसम्म दुई घन्टा मात्रै ताल्चा खोलेर पानी थापिन्छ । प्रत्येक घरले एक गाग्रीका दरले पानी थाप्दा पालो नआउनेले भोलिपल्टसम्म कुर्नुपर्छ ।  

 

कसैले रातभर पानी भरेर रित्याउने, कसैले एक थोपो पनि नपाउने अवस्था आएपछि सहमतिमै ताल्चा ठोक्ने नियम राखिएको स्थानीय दुर्गा श्रेष्ठले बताइन् । तर, एक गाग्री पानीले कुनै घरको पनि गुजारा चल्दैन । उदयपुरको महाभारत शृंखलामा पर्ने पहाडी बस्तीहरूमा पानीको यति धेरै हाहाकार छ कि यहाँको समस्या थाहा पाएकाहरूले छोरी दिनै मान्दैनन् । पानीको समस्याकै कारण गढी, भञ्ज्याङ, कटहरे, सुन्तले क्षेत्रमा बुहारी भित्र्याउनै समस्या परेको टंक तामाङले सुनाए । ‘पानी लिन राति ३ बजे नै उठेर देवीथान वा कालापानी कुवामा पुग्नुपर्छ । बिहानभर पालोमा बसेर ल्याउनुपर्छ,’ टंकले भने, ‘दुःख पाउने भन्दै छिमेकी गाउँका अभिभावक यहाँका केटालाई छोरी दिन मान्दैनन् ।’

 

करिब डेढ सय घरपरिवार पानीकै समस्याका कारण बसाइँ सरेका छन् । गढी क्षेत्रका बालबालिका बिहान पानी लिन जाँदा स्कुल नै छुट्ने गरेको छ । ‘बिहान ५ बजे घरबाट निस्किँदा पनि पानी लिएर फर्किँदा १० बज्छ,’ कक्षा ४ मा पढ्ने निशा र माया तामाङले भने, ‘आमा पँधेरो जाँदा मात्रै स्कुल जान पाइन्छ, हामी गयौँ भने स्कुल छुट्छ ।’

 

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ पलापुकी सुनमाया मगर राति ३ बजेअघि नै उठेर गाग्री टिपेर पलापु भञ्ज्याङस्थित धारातिर कुद्छिन् । एक गाग्री पानी भरेर घर फर्किँदा १० बज्छ । ‘बिहान ४ देखि ९ बजेसम्म पाँच घन्टा र साँझ पनि ४ देखि ७ बजेसम्म तीन घन्टा पानी थाप्न पाइन्छ । विस्तृत समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

ताला खानेपानीको धारा

विशेष